दाङ,मंसिर ४ । प्रतिनिधिसभा र प्रदेशसभाको लागि मतदान सुरु भएको छ । दुई सय ७५ प्रतिनिधिसभा सदस्य तथा तीन सय ३० प्रदेशसभा सदस्य चुन्न आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदै छ ।
आगामी पाँच वर्षका लागि संघ र सातै प्रदेशमा सरकार बनाउने जनादेश भएकाले निर्वाचनलाई प्रमुख दलहरूले प्रतिष्ठा बनाएका छन् । संविधानसभा जारी भएपछि हुन लागेको यो दोस्रो आमनिर्वाचन हो ।
यस चुनावमा ११ हजार पाँच सय ४३ उम्मेदवारले भाग लिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले कम्तीमा ७० प्रतिशत मत खस्ने र ९९ प्रतिशत सदर हुने अपेक्षा गरेको छ ।
२२ मंसिरभित्र पूर्ण नतिजा दिने र यसै महिना नयाँ सरकार बन्ने आयोगको विश्वास लिएको छ ।
प्रमुख आयुक्त दिनेश थपलियाले निर्धक्कसँग मतदान गर्न आममतदातालाई अपिल गरेका छन् । निर्वाचनका लागि अन्तिम नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता छन् ।
मतदाताले १० हजार आठ सय ९२ मतदानस्थल तथा २२ हजार दुई सय २७ मतदान केन्द्रमा गएर मतदान गर्नेछन् । आयोगले सय मतदानस्थल तथा तीन सय ९२ वटा मतदान केन्द्रलाई अपांगमैत्री बनाएको छ ।
यी केन्द्रमा एक हजार आठ सय ८६ अपांगता भएका मतदाता छन् । चार हजार चार सय ७८ संवेदनशील र तीन हजार ६५ केन्द्र अति संवेदनशील रहेका छन् ।
आयोगले कार्यस्थलमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक र कैदी–बन्दीको मतदानका लागि एक सय ४१ अस्थायी मतदान केन्द्रको व्यवस्था गरेको छ । करिब चार लाख ५० हजार अस्थायी मतदाताले समानुपातिकतर्फ दललाई मतदान गर्न पाउनेछन् ।
मतदान केन्द्रको नेतृत्व नासुदेखि उपसचिवसम्मले गरेका छन् । एउटा मतदान केन्द्रमा कम्तीमा नौदेखि १२ जनासम्म कर्मचारी खटिएका छन् । एउटा मतदान केन्द्रमा कम्तीमा १० जना सुरक्षाकर्मी (प्रहरी र म्यादी) खटिएका छन् ।
सशस्त्र प्रहरी र सेना बाहिरी घेरामा ब्याक फोर्सका रूपमा रहेको छ । मतदान केन्द्रमा कुल दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटिएका छन् ।