२०८१ जेष्ठ ११ गते शुक्रवार

दाङमा निर्वाचनको सम्पूर्ण तयारी पुरा

पाँच मतदान केन्द्रमा महिला नेतृत्व

दाङ, मंसिर ३ । भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दाङमा मतदान केन्द्रहरु निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लाका १५३ मतदान स्थल छन भने ४६५ वटा मतदान केन्द्र तोकिएको छ ।

जिल्लाका सबै मतदान केन्द्रमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा मतदान केन्द्र धमाधम निर्माण कार्य जारी रहेको दाङ जिल्लाका मुख्य मतदान अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।


कार्कीले जिल्ला भरका सबै मतदान केन्द्र व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको र दिउँसो सम्म मतदान केन्द्र निर्माणको काम पुरा हुने बताए । जिल्लाका पाँच मतदान केन्द्रमा महिलाहरू मात्रै खटिएका छन् । मतदान अधिकृत, साहयक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी र अधिकांश सुरक्षाकर्मी सबै महिला खटाइएका छन् ।


घोराही उपमहानगरपालिका वडा नं. १८ को आधारभूत विद्यालय बेलघारीको मतदान केन्द्र (क) मा महिला कर्मचारी मात्रै खटिएका छन् । मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी सबै महिला मात्रै खटाइएको निर्वाचन अधिकृत इन्दु बसेलले बताइन ।
यो मतदान केन्द्रमा ९५२ मतदाता छन । सोही मतदानस्थलको (ख) मतदान केन्द्रमा उर्मीला तिमिल्सिना मतदान अधिकृतको रुपमा खटिएकी छन । यो मतदान केन्द्रमा ९७३ मतदाता छन ।


त्यस्तै घोराही–१७ को प्रावि हरिद्वारको ९ग० मतदान केन्द्रमा खिमा भुसाल मतदान अधिकृतका रुपमा खटिएकी छन् । यहाँ ७४८ मतदाता रहेका छन । घोराही – १७ कै गोरक्ष रत्ननाथ माध्यामिक विद्यालय चौघेराको (क) मतादान केन्द्रमा मोतीकुमारी विश्वकर्मा मतदान अधिकृतका रुपमा खटिएकी छन । जहाँ ८१२ जना मतदाता छन् ।


त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको सेन्टर माध्यामिक विद्यालयको ८ वटा मतदान केन्द्र मध्य (ङ) मतदान केन्द्रको नेतृत्वदेखि सम्पूर्ण कर्मचारीहरु महिला खटिएका छन् । यो मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मीदेखि स्वयमसेविका सबै महिला रहेको मतदान अधिकृत मन्जु शर्माले बताइन ।

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स्वच्छ र निष्पक्ष बनाउन स्थानीय स्तरमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिसंग छलफल गरी मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । मतदान स्थलमा सरसफाईदेखि डोरी तानेर मतदानका लागि बुथ केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

जिल्लामा भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने निर्वाचनका लागि ३ हजार ७ सय २० कर्मचारी खटिएका छन् । त्यस्तै करिव ७ हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । निर्वाचनका लागि नेपाली प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको छ ।


रेग्मीले सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गरिएको बताए । जिल्लामा राजनीति दल र स्वतन्त्र गरी प्रदेशसभा सदस्यका लागि ४६ जना र प्रतिनिधिसभा सदस्यका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
तीन निर्वाचन क्षेत्र रहेको दाङमा ४ लाख १४ हजार नौ सय ५६ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *