दाङ,मंसिर ३ । दाङ जिल्लाको तीन स्थानमा मतगणना गरिने भएको छ। अहिले निर्वाचन अधिकृतको कार्यालय मतगणनास्थलको तयारीमा जुटेको छ।
मतदान सकिएलगत्तै मतपेटिका संकलन र गणनाको लागि स्थल बनाउने काम सुरु भएको दाङ क्षेत्र नम्बर १ का मतदान अधिकृत मानबहादुर विष्टले जानकारी दिए।
मतगणनालाई व्यवस्थित र सुरक्षित बनाउन तारजाली लगाउने समेत काम भएको छ। ‘कुनै अप्रिय घटना नहोस् भनेर तारजालीको घेरा लगाउने काम भएको छ।प्रतिनिधिसभाको दुई र प्रदेशसभाको दुई ठाउँमा एकैसाथ गणनाको व्यवस्थापन गरेका छौँ’, उनले भने।
क्षेत्र नम्बर १ लमही नगरपालिका, क्षेत्र नम्बर २ को जिल्ला समन्वय समिति र क्षेत्र नम्बर ३ को भूसंरक्षण कार्यालय तुलसीपुरमा गणनाको काम हुनेछ।
प्रत्येक घण्टा मतगणनाको अपडेट सार्वजनिक गरिने समेत निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रत्यक्ष तर्फको मतगणना सकिएपछी समानुपातिकको गणना सुरु हुनेछ। दाङ जिल्लामा १५३ मतदान स्थल, ४६५ मतदान केन्द्र छन्।
दुईवटा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ। ४ लाख १४ हजार ९ सय ५६ मतदाताले निर्वाचनमा भाग लिँदैछन्।