२०८१ बैशाख ८ गते शनिवार

विकासका लागि एकता आवश्यकः सांसद चौधरी


दाङ, फागुन २० ।
५ नम्बर प्रदेशका सांसद डिल्लीबहादुर चौधरीले विकासका लागि एकता आवश्यक रहेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँमा रहेको गौरीतालमा नवनिर्मित शिव मन्दिरको उद्घाटन गर्दै प्रदेशसभाका लेखा समितिका सभापतिसमेत रहेका चौधरीले विकासका सवालमा कसैले पनि राजनीति गर्न नहुने बताए ।

‘विकासका लागि एकता आवश्यक छ’ नेपाली काँग्रेसका नेता चौधरीले भने ‘निर्वाचनका क्रममा राजनीतिका कुरा भएपनि विकासको सवालमा कसैले कतै राजनीति गर्नुहुँदैन ।’ विकास एकैपटक सम्भव नभएको बताएका चौधरीले तुलसीपुर बेलटाकुरा सडकखण्ड निर्माणकै क्रममा काम रोकिएको हुँदा त्यसमा सबैले एकता प्रदर्शन गर्न आवश्यक रहेको बताए ।

धर्मलाई विकाससँग जोड्नसके धेरै सकारात्मक परिणामहरु निस्कने तर्क गरेका सांसद चौधरीले धर्म सबैभन्दा शक्तिवान रहेको उल्लेख गरे । ‘धर्म राजनीति भन्दापनि धेरै माथि छ, संविधानभन्दा पनि धेरै माथि छ’ सांसद चौधरीले भने ‘कानुन निर्माण नहुँदै समाज धर्मबाट निर्देशित थियो र आजपनि छ ।’ धर्मकै कारण राम्रो गरे पुन्य मिल्ने र गलत गरे पाप लाग्ने भन्ने विश्वासले समाज चल्दै आएको उनले बताए ।

सेना, पुलिस नहुँदा धर्मले नै समाज निदृष्ट गरेको हुँदा आज पनि त्यही विश्वासका साथ एकतावद्ध भएर धर्मलाई विकासमा जोड्नुपर्ने उनको कथन थियो । कार्यक्रमका प्रमुख अतिथि सांसद चौधरीले गौरीतालको विकासको लागि गुरुयोजना निर्माण गरेर त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्रिने वातावरण निर्माण गर्न आवश्यक रहेको बताए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष कुमार लामिछानेले जिल्लाको सबैभन्दा ठूलो प्राकृतिक ताल गौरी तालको विकासका लागि गुरुयोजना निर्माण गरेर त्यही अनुरुप अगाडि बढ्नुपर्ने बताए । नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद गेहेन्द्र गिरीले ०६२÷६३ को जनआन्दोलनको उद्देश्य धर्म निरपेक्षता नभएको हुँदा हिन्दू राष्ट्र नेपाललाई गलत तरिकाले धर्म निरपेक्ष बनाइएको बताए । उनले तीव्र रुपमा भइरहेको धर्मान्तरणबाट सबै हिन्दू सजग रहनुपर्ने धारणा राखे ।

गौरी ताल संरक्षण समितिका अध्यक्ष तथा मन्दिर निर्माण समितिका अध्यक्ष दानबहादुर खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई क्षेत्रीय प्रतिनिधिहरु रेशमबहादुर भण्डारी र एकराज आचार्य, नेपाल दलित संघकी केन्द्रीय सचिव देविका नेपाली, तुलसीपुर नगरका कार्यपालिका सदस्य अमर नेपाली, वडा नं. १० का वडा सदस्य शेरबहादुर खड्का, काँग्रेस वडा नं. १० का इकाई सभापति यामराज केसी, स्थानीय शिक्षक चन्द्रप्रकाश रेग्मीलगायतले सम्वोधन गरेका थिए ।

ताल संरक्षण समितिका सचिव भक्तिराज खत्रीको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समितिका हेमकर्ण केसीले गरेका थिए । स्थानीयले सांसद चौधरीलाई १५ किलोको माला लगाएर सम्मान गरेका थिए ।

तालको बीचमा साढे ५५ लाखको मन्दिर निर्माण
गौरी तालको बीचमा नवनिर्मित शिव मन्दिरको सोमबार औपचारिक रुपमै उद्घाटन गरिएको छ । जसको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा ५ नं. प्रदेशका सांसद तथा लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले गरेका हुन् ।

जिल्लाकै सबैभन्दा ठूलो गौरी तालको कुल क्षेत्रफल ११ विगाह ९ कठ्ठा बढी रहेको छ भने हाल पानी भएको क्षेत्रफल भने साढे ७ विगाह रहेको छ । यस तालको अरु जग्गा अतिक्रमणमा परेको छ । ताल संरक्षण समितिका अध्यक्ष दानबहादुर खड्काका अनुसार त्यही तालको बीच भागमा साढे ५५ लाख रुपैयाँको लागतमा शिव भगवानको मन्दिर निर्माण गरिएको छ ।

मन्दिरसम्म पुग्न ५३ मिटर लामो पुल निर्माण गरिएको छ । यहाँ शिव मन्दिर निर्माण गर्न सांसद् डिल्लीबहादुर चौधरीले सांसद विकास कोषबाट साढे ५ लाख र बाँकी ५० लाख तालको कोषबाट खर्च गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

युवाहरुले मूर्ति र शिव लिंग स्थापना गरे
गौरीगाउँका युवा तथा शिक्षक घमराज केसीको नेतृत्वमा युवाहरु व्यक्तिगत रुपमा रकम संकलन गरी मन्दिरभित्र शिव मूर्ती र शिव लिंग स्थापना गरेको जानकारी दिएका छन् । ९ जना युवाहरुमध्ये ४ जनाले ११ हजार बढी र बाँकी ५ जनाले ५ हजार १ सय रुपैयाँ संकलन गरी ६४ हजारको शिव मूर्ति र १० हजार ५ सयको शिव लिंग स्थापना गरेको केसीले जानकारी दिए ।

ताल ठेक्कामा दिने कि नदिने भन्ने बहस सुरु
जिल्लाकै सबैभन्दा ठूलो प्राकृतिक गौरी ताललाई पछिल्लो केही बर्ष यता माछापालनको लागि ठेक्कामा दिने गरिएको छ । यो तालमा बार्षिक झन्डै १० लाखसम्म ठेक्कामा दिने गरिएको भएपनि पछिल्लो समय साढे ५ लाखको दरले तीन बर्षको लागि ठेक्कामा गएको छ ।

तर सोमबार मन्दिर निर्माण गरी शिव मूर्तिको प्राण प्रतिष्ठासमेत गरिएको हुँदा अब स्थानीयका बीचमा ताल माछापालनका लागि ठेक्कामा लगाउन नहुने बहस सुरु भएको छ । स्थानीय एक युवा दोर्ण खड्काले शिव मूर्ति स्थापना पछि अबदेखि तालमा माछापालनका लागि भाडामा लगाउन नहुने तथा त्यहाँका माछा पनि मार्न नहुने तर्क गरे ।

माछापालनको लागि ताललाई ठेक्कामा लगाउँदा ताल विभिन्न सातवटा खण्डमा विभक्त गरिदा तालको स्वरुप नै बिग्रिएको भन्दै अब त्यो सबै हटाएर पहिलेको जस्तै एउटै र जिल्लाको सबैभन्दा ठूलो ताल निर्माण गर्न आवश्यक रहेको उनले बताए । ‘अब तालमा पर्यटकका लागि रवर बोटहरु सञ्चालन गरिनुपर्छ । तालको आसपासको जग्गालाई पिकनिक स्पटको रुपमा विकास गरिनुपर्छ ।’

त्यस्तै उनले बत्तिमुनीको अँध्यारो भने झनैं तुलसीपुर बजारको सम्मुखमा रहेको गौरी तालको विकासमा हालसम्म नगरले कुनै लगानी नगरेको तथा केन्द्रीय सरकारले पनि कुनै चासो नदिएको भन्दै रोष व्यक्त गरे ।

प्रकाशित मिति : २०७५ फाल्गुन २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *