दाङ, २० फागुन ।
भूकम्पकीय जोखिमलाई न्यूनीकरण गर्न दाङसहित देशका २० जिल्लामा ‘भूकम्प मापन स्टेशन’ राखिने भएको छ । चीन, जापान र राइम्सको सहयोगमा २० जिल्लामा भूकम्प मापन स्टेशन राखिने भएको हो ।
चीन सरकारले १०, जापान सरकारले ८ र राइम्सको सहयोगमा २ स्थानमा स्टेसन राखिने भएको हो । देशका दाङ, रोल्पा, कपिलवस्तु, संखुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ, मुस्ताङ, डोल्पा, मुगु, बाजुरा, दार्चुला, सिन्धुली, बारा, चितवन, नवलपरासी, स्याङ्जा, म्याग्दी, कपिलवस्तु, रोल्पा र महोत्तरीमा स्टेशन राखिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले स्टेशन निर्माण भएपछि नेपालभरका भूकम्पको डाटा मापन गर्न सहज हुने बताए । ‘धेरै स्टेशन निर्माण भएसँगै सानाभन्दा साना भूकम्पको समेत मापन गर्न सहज हुने उनको भनाइ छ ।
२०७२ साल बैशाख १२ गतेको भूकम्पपछि नेपालमा चार रेक्टर स्केलभन्दा माथिका पाँच सयभन्दा बढी र चार रेक्टर स्केलभन्दा साना ५० हजारभन्दा धेरै भूकम्प गइसकेको केन्द्रले जनाएको छ । हाल राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौर र राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतबाट देशरभरको भूकम्पका बारेमा जानकारी लिँदै आएको छ ।