जुम्ला ,कात्तिक १२ । अघिल्लो महिना असोज १९ गते पछिको बाढीपहिरोले विच्छेद भएको राष्ट्रिय प्रशारण लाइन निर्माणपछि जुम्लामा विद्युत् सेवा सुरु भएको छ ।
झण्डै तीन हप्तापछि जुम्लामा बिजुली बलेको छ । वर्षाले क्षति गरेपछि कर्णाली राजमार्गसँगै विद्युत् सेवा समेत अवरुद्ध भएको थियो ।
कर्णाली राजमार्गको दैलेख, कालिकोट हुँदै जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । तर बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएको थियो ।
निरन्तर मर्मतको काम गरेपछि विद्युत् सेवा नियमित भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाले जनाएको छ ।
केन्द्रका प्रमुख नरेश दत्त रावलका अनुसार मर्मतपछि अहिले जुम्लामा सबै ठाउँमा बिजुलीको आपूर्ति भएको छ । दशैँ तिहारका बेला जुम्लाका धेरै जसो ठाउँमा अन्धकार भएको थियो ।
स्थानीय उत्पादन घुघुत्ती र जाल्पादेवि साना जलविद्युत आयोजनाको बिजुलीबाट जुम्ला सदरमुकाम खलंगामा केही राहत भएको थियो ।
