२०८२ जेष्ठ ११ गते शुक्रवार

तिहारमा सुनचाँदीको व्यापार ७० करोडभन्दा बढी

काठमाडौं,कात्तिक ८ । कोरोना महामारीले सुस्ताएको सुनचाँदीको बजार तिहारको समयमा जुरमुराएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दसैंपछि तिहारको समयमा सुनचाँदीको कारोबार ह्वात्तै बढेको हो ।

दसैंको समयमा दैनिक २० किलोग्रामसम्म सुनको व्यापार भएको थियो । त्यसपछि देशभर दैनिक १० देखि १५ किलोग्रामका दरले सुनको बिक्री हुँदै आएको महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए ।

उनले दसैंपछि सुकेको सुनचाँदीको कारोबार तिहारमा एकाएक बढेको जानकारी दिए ।

‘तिहारको २ दिन ९धनतेरस र धनवन्तरी जयन्ती० मा दैनिक ४५ किलोग्रामसम्म सुन बिकेको छ,’ शाक्यले भने, ‘यो एकदमै राम्रो व्यापार हो । हामीले दैनिक ३० देखि ३५ किलोग्राम सुन बिक्री हुने अपेक्षा राखेका थियौं ।’ शाक्यका अनुसार २ दिनमा गरी कूल ९० किलोग्रामभन्दा बढी सुन बिकेको छ । यो वर्ष २ दिन धनतेरस परेर पनि व्यापार बढी भएको व्यापारीहरूको भनाइ छ ।

‘प्रतिकिलोग्राम सुनको मूल्य ८१ हजार रुपैयाँ हाराहारी पर्छ,’ शाक्यले रातोपाटीसँग भने, ‘यसआधारमा २ दिनमा करिब ७२ करोड ९० लाख रुपैयाँ बराबरको सुन बिक्यो ।’

बजारमा अपेक्षाभन्दा बढीको माग देखिएपछि अर्डर पुरा गर्नै हम्मेहम्मे परेको शाक्यले बताए । ‘नेपाल राष्ट्र बैंकले दैनिक १० किलोग्राम सुनमात्रै आयात गर्न दिन्छ,’ शाक्यले भने, ‘यहीकारण, खरिदकर्ताको मागअनुसार सुनको आपूर्ति गर्न सकिएन ।

मागअनुसार आपूर्ति दिन सकेको भए दैनिक ५० किलोग्रामसम्म सुनको बिक्री हुन्थ्यो ।’

२ हजार किलोग्राम चाँदी बिक्यो

यस्तै, तिहारमा २ हजार किलोग्रामभन्दा बढी चाँदी बिक्री भएको महासंघले जनाएको छ ।

दुई दिन गरेर २ हजार किलोग्रामको व्यापार हुँदा लामो समयपछि सुनचाँदीको बजार गुल्जार भएको अध्यक्ष शाक्यले बताए ।

‘एक किलो चाँदीको मूल्य १ लाख ४ हजार हुन्छ,’ उनले भने, ‘यसअनुसार तिहारको २ दिनमा मात्रै २० करोड ८० लाख रुपैयाँको चाँदी बिक्यो ।’ यसबाहेक अन्य दिनमा समेत सुनचाँदीको व्यापार राम्रै भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *