दाङ, कात्तिक ६ । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिवारदेखि सुरु भएको छ ।
यस वर्ष यमदीपदान शनिवारदेखि सुरु भए पनि कागतिहार आइतवार (आज) परेको छ । धनवन्तरी जयन्ती पनि आज नै परेको छ ।
तिथिको घटबढका कारण सोमवार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । सोमवार बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा छ ।
गाईपूजा कार्तिक ८ गते मंगलवार परेको छ । गोरूपूजा, हलितिहार, गोबद्र्धन पूजा, बलिपूजा र आत्म ९म्हः० पूजा कार्तिक ९ गते बुधवार परेको छ ।
कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोबर्धन र आत्म ९म्हः० पूजा गर्नुपर्ने शास्त्रीय वचन छ ।
प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ ।
भाइटीका ११ः३७ मा उत्तम साइत
कार्तिक १० गते विहीवार भाइटीका परेको छ । यस दिन बिहान ११ः३७ बजे भाइटीकाको उत्तम साइत रहेको छ ।
सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने जनाइएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ ।
भाइपूजा र नेवारी भाषामा किजापूजा कार्तिक १० गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या छैन ।
तिहारलाई उज्यालो पर्वको रूपमा समेत लिने गरिन्छ । तिहारमा प्रत्येक घर झिलीमिली बनाएर सजाउने गरिन्छ । विशेष गरेर तिहारमा विुुद्युतीय बत्ती, मैनवैत्ती, माटोको पाला प्रयोग गरिन्छ ।
गढवा गाउँपालिका–१ पत्रिङ्गा निवासी ६८ वर्षीय गाजुराम थारु कुमाललाई आजभोलि माटाका पाला बनाउन भ्याइ–नभ्याइ छ ।
तिहारका लागि माटोको पालाको माग बढेपछि गाजुरामसँगै उनका छोरा ताराबहादुर र नाति बिनायकले समेत माटोको पाला बनाउने काम गर्दै आएका छन् ।
अन्य समयको तुलनामा तिहारमा धेरै विक्री हुने भएकाले अहिले उनको परिवारले अन्य काम छोडेर पाला बनाउने काम गर्दै आएको गाजुराम बताउँछन् ।
उनकाअनुसार तिहारका लागि माटोको पालाको माग धेरै आएपछि उनको परिवारलाई पाला बनाउन भ्याइ–नभ्याइ छ ।
‘तिहारका लागि दसैँलगत्तै माटोको पाला बनाउने सोच थियो तर पानीका कारण सुकाउने समस्या भयो र बनाउन सकिएन’, गाजुरामले भने, ‘त्यही भएर तिहार आइपुग्दासम्म पनि हामीले पाला बनाइरहेका छौँ ।’ उनकाअनुसार दीपावली बत्ती बाल्नका लागि तिहारमा पालाको व्यापार राम्रो हुन्छ ।
तिहारमा प्लास्टिकका झिलीमिली बत्ती र मैनवत्तीभन्दा माटोको पालामा बत्ती बाल्नु राम्रो हुने भएकाले पछिल्लो समयमा माटोको पालाको माग धेरै हुने गरेको उनी बताउँछन् ।
माटोको पालाको व्यापार राम्रो हुने भएकाले अन्य काम छोडेर पाला बनाउने काममा आफ्नो परिवार लागेको उनी बताउँछन् ।
‘अरु बेला खासै विक्री नहुने गरे पनि तिहारको समयमा धेरै विक्री हुनेगरेको छ’, उनले भने, ‘त्यसैले अरू काम छोडेर परिवार नै पाला बनाउने र पकाउने काममा लागेका छौँ ।’
पालाहरू अहिले घरबाटै विक्री हुने गरेको गाजुरामले बताए । अडरअनुसार केही पाला घोराही, भालुवाङसँगै प्यूठान र कपिलवस्तु जिल्लालगायतका विभिन्न ठाउँमा पठाएको उनले बताए ।
अन्य समयमा माटोबाट बन्ने गमला, पैना, खुत्रुके, घंँटालगायतका सामग्री बनाए पनि अहिले ती सामग्री बनाउन छोेडेर पाला मात्रै बनाउने गरेकोे विनायकले बताए ।
तिहार नजिकिँदै गर्दा पालाको व्यापार राम्रो हुने भएकाले आपूmले पनि बुबा र बाजेसँगै एक सातादेखि माटोको पाला बनाउने काम गर्दै आएको बताए । फुर्सदमा पाला बनाउँदा आफ्नो लागि पढाइ खर्च समेत जुटिरहेको उनले बताए ।
विनायकले गाउँकै विद्यालयमा कक्षा ९ मा अध्ययनरत छन् । उनकाअनुसार दैनिक २ सयदेखि २ सय ५० वटासम्म पाला बनाउने गर्दछन् । ‘बुबा÷बाजेले दिनमा ४ सयसम्म बनाउर्नहुन्छ तर म भर्खरै सिक्दै गरेकाले २ सय ५० सम्म बनाउन सक्छु’, विनायकले भने, ‘राम्रोसँग सीप सिकेपछि आम्दानीको राम्रो स्रोत हुने आशा छ ।’
उत्पादन भएका माटोका भाँडाहरू देउखुरी उपत्यकासहित दाङ, प्यूठान र कपिलवस्तु जिल्लाका विभिन्न ठाउँमा विक्री हुने गरेको गाजुरामले बताए् ।
यसरी बनाइएका पाला प्रतिपाला पाँच रूपैयाँका दरले विक्री हुने गरेका छन् ।
