बाँके असोज ३० । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न जान लागेका मंगोलियन जुडो क्लब खजुराका खेलाडीलाई विदाई गरिएको छ ।
पोखरामा भैरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मंगोलियन जुडो क्लबका ८ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन । त्यसका लागि बाँकेबाट छनोट भएका खेलाडीलाई शनिबार बिदाई गरिएको हो ।
पोखरा प्रस्थान गरेका खेलाडी तथा प्रशिक्षकलाई नेपाल खेलकुद पत्रकार मञ्चका पुर्व केन्द्रीय सदस्य कमल खत्री, जावलाखेल गु्रप अफ इन्डिष्ट्रिजका मध्य तथा सुदुर पश्चिम एरिया म्यानेजर उमेश निरौला, साहित्यकार रिचा लुइटेलले विदाई गरेका हुन ।
प्रशिक्षक विजय गुरुङले बाँकेमा नियमित रुपमा जुडो प्रशिक्षण गराउँदैं आएका छन् । विजयले प्रशिक्षण गराउने मंगोलियन जुडो क्लबका ८ जना खेलाडीले लुम्बिनी र ४ जनाले सुदुरपश्चिम प्रदेशबाट नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्न थालेका छन् ।
प्रतिक्षा केसी, सम्झना थापा, बिनिता खत्री, कासीराम माउत, आयुश साउद, निराजन पौडेल क्षेत्री, प्रशन्न गुरुङ, प्रनित जंग सिंह ठकुरीले लुम्बिनी प्रदेशबाट खेलिरहेका छन् ।
प्रतियोगितामा लुम्बिनी प्रदेशबाट १३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन । जसमा ८ जना मंगोलियन क्लबका छन ।
खेलाडीलाई विदाई गर्दै प्रतियोगितामा लुम्बिनी प्रदेशका खेलाडीले उत्कृष्ट नतिजा निकाल्ने विश्वास गरिएको छ ।
