२०८१ भाद्र २६ गते बुधवार

घर घरमा पुगेर हात्तिपाईले विरुद्धको औषधी खुवाउन सुरु

तिर्थराज ज्ञवाली,
मसुरीया,फागुन १७ । राप्ती गाउँपालिकामा हात्तीपाईले (फाईलेरिया) विरुद्ध औषधी घर घरमा गएर खुवाउन सुरु गरिएको छ । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीलाई औषधी ख्वाएर अभियानको सुरुवात भएको हो । त्यसपछि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसाल लगाएतले जनप्रतिनिधि र कर्मचारीले औषधी खाए । अनि यहाँका विद्यालय, संघ संस्था लगाएत स्वास्थ्यकर्मी सर्वसाधारणको घर घरमा पुगेर औषधी ख्वाउन थालेका हुन ।

दाङ लगायत देशका १५ जिल्लामा यो अभियान सुरु गरिएको छ । हात्तिपाईले रोग उन्मुलन गर्ने लक्ष्यका साथ औषधी खुवाउन थालिएको हो ।

नेपालमा हिमाली १३ जिल्ला र गुल्मीमा हात्तिपाइले रोगका विरामी हालसम्म फेला परेका छैनन् । भौगोलिक दृष्टिकोणले लामखुट्टे पाइने सबै जसो ठाउँमा यो रोगका विरामी फेला परेका छन् ।

नेपालमा हात्तीपाईले (फाईलेरिया) का कारण हाईड्रोसिल भएका पुरुषको संख्या १ लाख, हात,खुट्टा सुन्एिको महिला पुरुषको संख्या २० हजार, स्तन सुन्निएको महिलाको संख्या १ हजार ,महिलाको यौनाङ्ग सुन्निएको १ हजार रहेको बताइन्छ ।

रोगका लक्षणहरु
हात्तीपाइले (फाईलेरिया) रोग लागेमा जाडो लाग्ने, ज्वरो आउने र शरिमा कम्पन हुने, लिम्फ नलीहरू सुन्निने, रातो भई दुख्ने, हात गोडामा निलाकाला धर्साहरू देखिने, गिर्खाहरू आउने दुख्ने,पुरुषमा अण्डकोष वरपरका नसाहरू फुल्ने÷दुख्ने,अण्डकोष ठूलो हुने, दुख्ने गिर्खाहरू भेटिनु, पछि हाइड्रोसिल अर्थात अण्डकोष वरिपरी पानी भरिएर ठूलो आकार हुने, यौनाङ्ग अथवा स्तन सुन्निने÷दुख्ने, खुट्टा सुन्निने,पिसाबमा दुध दही जस्तो बाक्लो सेतो लेदो आउने, लामो समयसम्म सुख्खा खोकी लागिरहने, दम बढ्ने, रगतमा इस्नोफिलिया देखिने यसका लक्षणहरु हुन ।

औषधी खाने उमेर
२ वर्ष देखि ५ वर्ष उमेर समुहका वालवालिका, ६ वर्ष देखि १४ वर्ष उमेर समुहका व्यक्ति, १५ वर्षमाथि उमेर समुहका व्यक्तिहरुले औषधी खानुपर्छ ।

कस्ले नखाने
दुईवर्ष नपुगेका केटाकेटी, गर्भवती र सातदिन सम्मका सुत्केरी,सिकिस्त विरामीहरु जस्तैः दैनिक क्रियाकलाप गर्न नसक्ने ओछ्यानमा परेको,कुनै कडा रोगलागी औषधी सेवन गरिराखेको जस्तैः क्यान्सर, मुटुरोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोका रोगी, दिर्घरोगी, मृगी ,२४ घण्टा भित्र ज्वरो आएको, कडा कुपोषण भएका ५ वर्ष मुनिका वालवालिकाले यो औषधी सेवन गर्नु हुँदैन ।

त्यस्तै ७० वर्ष भन्दा माथिका मानिसले पनि स्वास्थ्य जाँच गरेर माथि उल्लेखित दिर्घ रोग नलागेको एकिन गरेर मात्र औषधी खानु पर्ने हुन्छ ।

सेवन पछि देखिने सामान्ने लक्षण
ज्वरो आउने,टाउको दुख्ने,रिङ्गाटा लाग्ने, वाकवाकी लाग्ने, वान्ता हुन पेट दुख्ने, जस्ता सामान्य असरहरु औषधी सेवन पछि देखिन सक्छन् । यस्तो अवस्था भएमा औषधी खाने व्यक्तिहरुले आफूमा हात्तिपाईले रोगको परजिवी रहेछ भन्ने बुझ्नु पर्छ । औषधीले काम गरेर ती परिजीवी मर्न थालेपछि व्यक्तिमा त्यस्तो लक्षण देखिनु सुखद कुरा भएको स्वास्थ्यकर्मीले सल्लाह दिएका छन् । त्यसवाट आत्तिन नहुने र विना उपचार त्यस्ता असरहरु १–२ दिनमा आफै ठिक भएर जाने स्वास्थ्यकर्मीको सल्लाह छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *