तुलसीपुर, असोज २३ । नेपाली काँग्रेसले दाङको निर्वाचन क्षेत्र नं. १ को (२) मा २८ बर्षीय अनुराग खड्कालाई प्रदेश सभा सदस्य पदको उम्मेदवार बनाएको छ ।
अनुराग स्वर्गिय नेता खुमबहादुर खड्का एक मात्र पुत्र हुन । टिकट पाएपछि अनुरागले आँफु जस्ता युवालाई टिकट दिलाउन भूमिका खेल्ने सबै अग्रज नेता तथा समर्थकलाई धन्यबाद ज्ञापन गरे ।
उनले आँफु उत्साह बोकेर मनोनयन दर्ताका लागि जिल्ला आउन थालेको जानकारी दिए । टिकटका लागि पार्टी भित्र आन्तरिक लबिङ वा दौड धुप भएपनि पार्टीले टिकेट दिएपछि सबै मिलेर जाने र गठबन्धनको पक्षमा माहोल बनाउन जुट्न जरुरी रहेको अनुरागले बताए ।
अनुराग पार्टीको २०७८ साल मंसिर ४ गते भएको अधिबेशनमा दाङ निर्वाचन क्षेत्र नं. १ बाट केन्द्रीय महाधिबेशन प्रतिनिधिमा सर्वाधिक बढी मत प्राप्त गरि निर्वाचित भएका थिए । उनी जिल्लाकै सबै भन्दा कान्छा केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि हुन ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत उनी भदौ २१ गते क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए । उनका पिता तथा पूर्व गृहमन्त्रीसमेत रहेका खुमबहादुर खड्का २७ बर्षकै उमेरमा नेपाली काँग्रेसको केन्द्रीय सदस्य भएको इतिहास छ ।
स्वर्गिय नेता खुमबहादुर खड्का एक्ला छोरा अनुरागले बेलायतबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका छन । बुवाको अबसान पछि उनी राजनीतिमा सक्रिय भएका हुन ।
सशस्त्र द्धन्दको समयमा माओवादीले स्वर्गिय नेता खुमबहादुर खड्काको लमही नगरपालिका वडा नं. ८ सतबरियास्थित घरमा बम बिस्फोट गराइ धोस्त पारिदिएका थिए ।
बुवाको १३औं दिनको पुन्य तिथिका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा अनुरागले आँफु राजनीतिमा सक्रिय हुने बताएका थिए । त्यही उदेश्यका साथ अनुरागले सतवरियामा नयाँ घर निर्माण गरेका छन् । दाङ आउँदा उनी सोही घरमा बस्दै आएका छन् ।
दाङमा काँग्रेसबाट अरु क– कस्ले पाए टिकट ?
गठबन्धन दलबाट नेपाली काँग्रेसले प्रतिनिधिसभा तर्फ दाङका तीन निर्वाचन क्षेत्र मध्य क्षेत्र नं. ३ मा मात्रै टिकट पाएको छ । केन्द्रीय सदस्य दीपक गिरीलाई पार्टीले यहाँबाट उम्मेदवार बनाएको छ ।
त्यस्तै पार्टीले ३ ( १) मा लुम्बिनी प्रदेशका सहरी विकास, ग्रामिण तथा पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ ।
क्षेत्र नं. २ अन्तरगत २ (१) मा पूर्व सांसद राजु खनाल र २ (२) मा युवा प्रचण्ड बिक्रम न्यौंपानेले टिकट पाएका छन् ।