२०८२ असार ४ गते बिहिवार

दुई उपमहानगरले पुर्ने भए चारलेनका खाडल

घोराही, असोज ४ । तुलसीपुर– घोराही चारलेन सडकका खाडलहरु स्थानीय पालिकाले पुर्ने भएका छन् । ठकेदार कम्पनी खाडल पुर्ने निर्णय भएपनि कुनै काम नगरेपछि स्थानीय पालिकाहरुले खाडल पुर्ने निर्णय गरेका हुन ।

नेपालीहरुको महान चाड विजया दशमी नजिकिएपनि सडकको अवस्था वेहाल भएपछि स्थानीय पालिकाले आ–आफ्नो क्षेत्रको सडक खण्डका खाडलहरु पुर्ने भएका हुन ।

जिल्ला समन्वय समितिको यस अघि बैठकमा निर्माण कम्पनीले १५ दिनभित्र खाडलहरु पुरि सक्ने प्रतिबद्धता जनाएको थियो ।

सहमती अनुसार निर्माण कम्पनीले एउटा खाडलपनि नपुरेको हुँदा मंगलवारको बैठकमा घोराही र तुलसीपुर उपमहानगरपालिकाले मिलेर खाडल पुर्ने प्रतिबद्धता जाहेर गरेका हुन ।


त्यसका लागि निर्माण कम्पनीले टिप्पर, जेसेबी, लोडर र ग्रेडर उपलव्ध गराउने सर्वदलिय÷सर्वपक्षिय सहमती भएको छ ।
असोज ६ गते चारलेन सडक निर्माण कम्पनीले ती यान्त्रिक उपकरणहरु संबन्धित पालिकालाई उपलव्ध गराउने र संबन्धित पालिकाले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको समेत उपस्थितीमा खोला जन्य पदार्थको व्यवस्थापन गरि खाडल पुर्ने सहमती कायम भएको हो ।


जिल्ला समन्वय समितिका प्रमुख तथा चारलेन सहजीकरण समितिका संयोजक नित्यानन्द शर्माको अध्यक्षतामा भएको बैठकमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले अझैं ठेकेदारको विश्वास गरी बसिरहे खाडल कहिलै नपुरिने हुँदा आवस्यक उपकरण उपलव्ध गराउन माग गरेका थिए ।

तुलसीपुरका मेयर टीकाराम खड्काले ठेकेदार कम्पनीको प्रतिबद्धता अनुसार काम नभएको भन्दै आँफुहरुले मिलेर खाडल पुर्ने बताएका थिए । घटस्थापनासम्म तुलसीपुर– घोराही चारलेन सडक अन्तर्गत सडकका सवै खाल्डाहरु पुरी सक्ने दुई मेयरले प्रतिवद्धता व्यक्त गरेका थिए ।


काम भए नभएको बारे घटस्थापनाको दोस्रो दिन (असोज १० गते) फेरि समन्वय समितिको अर्को बेठक बस्ने निर्णयपनि भएको छ । उक्त बैठकले कार्य समिक्षा गर्ने छ ।


बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरी, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी प्रमुख वीरवहादुर वली, जिल्ला समन्वय अधिकारी मोहन सुवेदी, परियोजनाका कन्सल्टेन्ट इश्वर अमागाई, निर्माण कम्पनीका शेखर शर्मा, दाङ उद्योग वाणिज्य संघका सचिव नरेश श्रेष्ठ, यातायात व्यवसायी शिवराज पन्थी लगायतले ठेकेदार कम्पनीले काम नगरेको हुँदा स्थानीय पािलकालाई खाडल पूर्ण जिम्मा लिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०७९ असोज ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *