दाङ, भदौ ३० । दाङको दंगीशरण गाउँपालिका वडा नं.२ गोलटाकुरीका ५२ बर्षीय छविलाल नेपाली अझैंपनि नेपाली सेना देख्ना साथ त्रर्सिन्छन् । उनको सातो उड्छ । लुक्न खोज्छन् । यसको पछाडिको कारण करिब २२ वर्ष पुरानो घटनाले गर्दा हो । जस्ले आजपनि उनलाई बेलाबेला झस्काइरहन्छ।
यो २०५९ साल, साउन १६ गतेको कुरा थियो । गोलटाकुरी आकाँशको घरमा खेती लाग्ने ठाउँ हो । त्यो बर्ष साउन आधा भइसक्दापनि धान खेतीका लागि प्रयाप्त बर्षा भइसकेको थिएन । सुख्खा लागेको थियो । त्यसैले सल्लाह गरि हलो बनाउने काठ काट्न भन्दै स्थानीय १३ जना वन गएका थिए । तर, जंगलमै घेरा हालेर नेपाली सेनाले उनीहरुलाई कब्जामा लियो ।
छविलाल संगै गएका १२ जनालाई गोली हानेर एकै साथ हत्या गरेको थियो । उनीहरु सबै दलित र गरिब अनि निहत्था नागरिक थिए । जंगलमा नेपाली सेनाको गोलीबाट ३८ वर्षीय भूपाल, २२ वर्षीय रमेश, १९ वर्षीय मंगल, १७ वर्षीय जोगबहादुर, ४० वर्षीय रामप्रसाद, २८ वर्षीय रमेश र उनीहरूकै दाजुभाइ खलकका अर्का एक युवा थिए। उनीहरु सात जना एकै परिवार भित्रका दाजुभाइका छोराहरु थिए।
हत्या गरिएका मध्य भूपाल, मंगल र रमेश सहोदर दाजुभाइ हुन । उनीहरूका कान्छा भाइ सुरेस नेपालीले तीन दाजुको हत्यापछि आँफुहरु निकै मानसिक र सामाजिक रुपमा प्रताडित बनेको बताए । ‘बा आमा र आफन्त सबैको दिन रात रोयरै बित्ने गर्थे,’ उनले भने ‘ हामी जस्ता गरिब परिवारमा आर्जन गर्ने घरका तीन बलिया ढलेपछि के भयो होला आँफै कल्पना गर्नुस ।’
नेपाली सेनाबाट हत्या गरिएका अन्य पाँच जनामा २४ वर्षीय सोमराज, ४६ वर्षीय निपबहादुर, ४४ वर्षीय रामलाल, देवीराम नेपाली र तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलबारीका ५० वर्षीय लखन कामी रहेको इन्शेक दाङको प्रतिबेदनमा उल्लेख छ । तत्कालिन गोलटाकुरी गाविसले पनि यही प्रतिबेदन राखेको छ ।
प्रतिबेदन अनुसार लखन गोलटाकुरीस्थित आफन्तको घर गएका बेला वन हलो लिने जाने कुरा चलेपछि सँगै गएका थिए।
सामूहिक हत्यापछि १२ जनाको शवपनि परिवारले पाएनन् । नेपाली सेनाले जंगलमै गाडिदियो । सुरेशका अनुसार उनीहरुले शव त पाएनन् नै त्रासले काजकिरिया गर्नपनि सकेनन् । किनकी नेपाली सेनाले पहाडको चुचुरोमा रहेको राजकोट टावर हान्न आएका १२ आतंककारी मारेको दाबी गरेको थियो ।
तत्कालिन समयमा नेकपा माओबादीको युद्धपनि चरम उत्कर्षमा थियो । त्यसैले कसैलेपनि आफ्नो सामाजिक परम्पराअनुसार काजक्रियापनि गर्न नसकेको सुरेशले जानकारी दिए । द्वन्द्व थामिए पछि उनीहरूका परिवारले क्षतिपूर्ति भने पाएको तीन जना दाजु गुमाएका भाइ सुरेसले बताए ।
शान्ति प्रक्रिया सुरु भएपछि किस्तामै भएपनि १० लाख जति क्षतिपूर्ति पायौं होला,’ उनले प्रश्न गरे ‘ पैंशाले दुःख पीडा भूल्न मिल्छ र ? के एउटा ज्यान १० लाखको मात्रै हो ? ’ उनले पैंशा पाउनु मात्रै ठूलो कुरा मान्न नसकिने र जंगलमा हलो बनाउने काठ ल्याउनका गएका तीन दाजुहरुको हत्यापछि त्यसको नकारात्मक प्रभाव आजपनि आँफुहरुको परिवारमा परिरहेको बताए ।
दाइहरुको हत्या पछि भाउजु अन्तै गएको हुँदा त्यसले बच्चा बच्चीमा नकारात्मक प्रभाव परेको सुरेशले बताए । साँझ बिहान छाकको जोहो मजदुरी गरेर जोहो गर्ने गरिब दलित बस्तिले त्यो घटनाले दिएको पीडा कहिलै भूल्न संभव नरहेको उनले बताए । अरु जे जस्तो भएपनि अनाहकमा हत्या गरिएका निहत्या मानिसहरुको शालिक वा स्मारक गाउँमै बनाइदिएको भएपनि पीडित परिवार सबैको चित्त बुझ्ने शालिकले तर्क गरे ।
‘ जीवन यापनको खोजीमा निस्किएका निहत्या हाम्रा आफन्तहरु जसरी मारिएको भएपनि तत्कालिन परिस्थितिमा नेपालको राजनीतिक रुपान्तरणमा त्यसले पनि केही न केही भूमिका अवश्य खेल्यो होला,’ उनले भने ‘ ठूला बडा वा नाम चलेका ब्यक्ति भइदिएको भए स्मारक तत्काल निर्माण हुन्थ्यो होला, हामीलाई गरिब र दलित भनेर हेपेकी भन्ने लाग्छ ।’
पछिल्लो समय गाउँ घरमा बस्दा कुनै समस्या नरहेपनि समाजमा उठ्बस गर्दा र ठाकठुक पर्दा त्यही कुरा कसैले उठाइ दिदा निकै पीडा बोध हुने गरेको सुरेशले बताए । यो भयानक मृत्युको मुखबाट छविलाल भने भाग्यले उम्किन सफल भएका थिए । छबिलाल संगै रहेका अन्यलाई उनीहरुकै कपडा खोलेर आँखामा पट्टी बाँधेर लाइन लगाउँदै गरिरहेको थियो । छबिलालको पालो लगाएको लुगा फुकाल्ने आयो । लुगा फुकाल्दै गर्दा उनले अब यत्ति रहेछ भन्ने सोचे । नजिकैको खोल्सोमा हाम फाले ।
त्यही चिरैचिर जंगलको बाटो हुँदै उनी खुट्टामा चप्पलसमेत नभएपनि, शरिरमा लुगासमेत नरहेपनि भिरपाखामा बेहोस तालले हाम फाल्दै घिर्सिदै जोगिन सफल भए । आर्मीले दुई चार फायर ग¥यो । गोली उनको वरिपरीबाट बत्तिदै गएपनि भाग्यले जोगिए ।
घना जंगलको बाटो खोलैखोला घिस्रिँदै, लुडिबुडी गर्दै छाँगो छहरा, पहरामा ठोक्किएर रक्ताम्मे भएका छविलाल खोलैखोला अलि तल आइपुगे। त्यही जंगलमा खेल्दै हुर्केबढेका उनलाई सबै भूगोल थाहाँ थियो ।
एउटा गोरेटो फेला परे पनि बाटोमा पस्न डराए। खोलो नछाडी हिँडेका उनी कलम खोला आइपुगे। त्यो खोला तरेर पश्चिमको रातो डाँडो पुगे जो बबई नदी नजिकै थियो। त्यहाँदेखि गोलटाकुरी प्रहरीचौकी नजिकैको मधरिया गाउँ पुगे। त्यसपछि बबई नदी किनार।
यहाँसम्म आइपुग्न उनलाई झन्डै एक घन्टा लाग्यो। छविलालका अनुसार त्यतिखेर बढीमा करिब बिहानको साढे ८ बजेको थियो। उनीहरुलाई आर्मीले बिहान ७ बजेतिरै नियन्त्रणमा लिएको थियो । बबई नजिक आइपुग्दा उनले माथि पहाडमा लगातार बन्दुक पड्केको स्ष्टै सुने ।
सबैलाई आर्मीे मा¥यो भन्नेमा उनी निश्चिन्त भए । गोलटाकुरीस्थित उनको गाउँ जान थप केही पूर्व जानु पथ्र्यो । ढकना गाउँ पुग्दा उनले चिनजानका मानिस भेटे। आफन्त भेटिए। अनि सबै घटना विस्तार सुनाए । छविलालको त्यतिखेर होस– हवास उडेझैं भइसकेका थिए। उनीभन्दा पहिलै गाउँमा खबर पुगिसकेको रहेछ। तैपनि आफन्तहरू झिनो आशा बोकेर रोइरहेका थिए।
तर साँझ पाँच बजे यो आशा पनि आँशुसँगै बगेर गयो। रेडियोले सामाचार भन्यो । राजकोट टावरमा घरेलु हातहतियारसहित आक्रमण गर्न आएका १२ जना आतंककारी मारिए । त्यसपछि छविलाललाई खोज्दै सुरक्षाकर्मी गाउँ र घरमै आउन थाले। छविलाललाई खोज्दै अनाहकमा केही गाउँलेलाई सुरक्षाकर्मीले निर्घात कुटपिट गरे। बन्दुकका नाल कञ्चटमा राखेर धेरैलाई आतंकित बनाए। कतिलाई छविलाल देखा भन्दै ज्यान मार्ने धम्की दिए। सेनाकै डरले एक जनाले गाउँनै छाडेर भागेका थिए ।
तर, सेना–प्रहरीबाट जोगाउन छविलाललाई गाउँले केहीले शरण दिए । घटनाको पाँचौं दिन उनी फूलबारीको पहरूवास्थित आफन्तको घरमा शरण लिन पुगे। त्यसको एक महिनापछि छिमेकी देश भारत पुगे। त्रासकै कारण चार वर्ष उतै बसे।
नेपालमा शान्ति प्रक्रिया सुरू भइसकेको थियो। छविलाल २०६३ सालमा घर फर्किए। उनी घर आएको खबर पाउनासाथ सेना र प्रहरी फेरि उनलाई खोज्दै घरै आए। उनीसँग सामान्य सोधपुछ गर्दै फर्किए । यसपटक भने उनीहरुले छबिलाललाई केही गरेनन् । छविलालले चार वर्ष पछि बल्ल निर्धक्क भए । यद्यपी उनले यो बीचमा एक पैंशापनि राज्यबाट क्षतिपूर्ती बाफत नपाएको बताए ।
अहिले उनी आँफुलाई कालको मुखबाट बाँच्न सफल भएको ठान्छन् । आर्मीले हत्या गरेका १२ जना सबै उनका आफन्त थिए। त्यसैले त्यो घटना कल्पदापनि छबिलाल अझैं तर्सिन्छ । आर्मी देखे हच्किन्छन् । सपना देख्दा चिच्याउँछन् । त्यो भन्दा बढी उनलाई आफन्तले लगाउने अरोपले साह्रै पीडा हुने गर्छ ।
‘संगै गएका आफन्त र साथी भाइ गुमाउँदा म जति पीडा कस्लाई भयो होला,’ उनले थपे ‘ तर, उहाँहरू आफन्तहरु र गाँउकै कतिपय मानिसले आज पनि मलाई तिमि भागेको हुँदा हाम्रा मान्छेहरु आर्मीले मा¥यो भन्ने आरोप लगाउनु हुन्छ ।’ छविलालाई भने आँफु हिम्मतले भागेर ठिकै गरे भन्ने लाग्छ । नत्र आँफुपनि मारिने थिए भन्ने उनलाई लाग्छ । छविलाल आजपनि गाउँ घरमै मजदुरी गरेर जीवन यापन गर्दै आएका छन् । फर्निचरको काम र कच्ची माटोका घर बनाउने काम गर्दै आएका छन् ।
जग्गा जमिन धेरै छैन । उत्पादनले परिवारलाई तीन महिनाजति मात्रै खान पुग्ने गरेको छबिलालले जानकारी दिए । पाँच छोरी र एक छोरामध्ये दुई छोरीको बिहे भइ सकेको भएपनि अरु सानै रहेको उनले बताए । सेनाको घेराबाट बच्न खोलामा हाम फाल्दा बजारिएको उनको शरिर २२ वर्षदेखि दुख्दै आएको छ । ‘तनाबले उच्च रक्तचाप भएको छ,’ उनले भने ‘म औषधि खाइरहन्छु ।’
रात दिन श्रम गरेर जसोतसो जीवन यापन भइरहेको उनले बताए । आज उनी निधक्क भएर घरमै बस्न र काम गरेर साँझ बिहानको जोहो टार्न पाउँदा र शान्ति पूर्वक बस्न पाउँदा नै आफुलाई भाग्यमानी ठान्छन् । नाफाको जीवन बाँचिरहेको बताउने छबिलाल अब फेरि नेपालमा त्यस्तो काहाली लाग्दो समय कहिलै नआए हुन्थ्यो भन्ने कामना गर्छन ।