तुलसीपुर, ३० भदौ । तुलसीपुरमा आउँदो शनिबारदेखि हाटबजार सञ्चालन हुने भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको तरकारी बजार परिसरमा साताको एक दिन शनिबार तरकारी बजार सञ्चालनमा आउने भएको हो ।
स्थानीय कृषि तथा पशुपंक्षिजन्य उत्पादनलाई बजारीकरण गर्नका लागि हाटबजार सञ्चालनमा आउन लागेको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को पहलमा हाटबजार सञ्चालनमा आउने भएको हो ।
बजारमा छरिएर बिक्रि वितरण हुने कृषिजन्य वस्तुको बजार एकिकरणका लागि आउँदो शनिबारदेखि हाटबजार संचालनमा ल्याउन लागेको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष वर्षात भण्डारीले जानकारी दिए ।
कृषि उत्पादनको सहजरुपमा बजारीकरणका लागि तुलसीपुरको तरकारी बजारमा हाटबजार संचालनमा ल्याउन लागेको उनले बताए । हाटबजार संचालन भएपछि बजारमा कृषिजन्यवस्तुको जथाभावी हुने बिक्रिवितरणलाई रोक्न सकिने तर्क गरे ।
उनले स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्यवस्तु हाटबजारमा बिक्रिवितरण गर्नका लागि किसानलाई आग्रह पनि गरे ।
तुलसीपुर बजारमा तरकारी बजारलाई व्यवस्थित गराउन उपमहानगरपालिकाले निर्माण गरेको ट्रस्टमा तरकारी बजार संचालन हुने भएको हो ।
तरकारी बजारमा कोरोना महामारी अघि पनि दैनिकरुपमा किसानले तरकारी बिक्रि गर्ने गरेका थिए । तर कोरोना महामारीसंगै तरकारी बजारमा किसानले तरकारी बिक्रि गर्न छोडेको फलफूल तथा तरकारी बजार व्यवस्थापन समिति तुलसीपुरका अध्यक्ष माधव घिमिरेले बताए ।
‘तुलसीपुरमा व्यवस्थितरुपमा कृषि उत्पादन बिक्रि वितरण गर्ने भनेर तरकारी बजार बनेपनि अहिलेसम्म तरकारीको बिक्रिवितरण व्यवस्थित बन्न नसकेको बताउँदै उनले बजारका ठाउँ–ठाउँमा तरकारी तथा फलफूल बिक्रि वितरण हुँदा तरकारी बजारमा सटरमा व्यवसाय गर्ने व्यवसायी समस्यामा परेको बताए ।
तुलसीपुर बजारको तरकारी बजारलाई व्यवस्थित गर्न उपमहानगरपालिकाले तीन वर्षअघि तरकारी बजार संचालनमा ल्याएको छ । तर तरकारी बजारमा अहिले होलसेलबाहेक अन्य व्यापार हुन नसकेको छैन् । बजारमा मनपरीरुपमा तकारीको व्यापार व्यवसाय हुँदा तरकारी बजार सुनासान बनेको हो ।
तरकारी बजारबाट थोकरुपमा दाङसहित देशका विभिन्न सहरमा तरकारी जाने गरेको छ । तर स्थानीयस्तरमा तरकारी बिक्रि वितरण हुन नसकेको तरकारी तथा फलफूल व्यवसायी समितिका सचिव सुरेश कुमार गुप्ताले बताए ।
नगरउपप्रमुख स्यानी चौधरीले हाटबजारले किसानलाई तरकारी बिक्रिमा सहजता ल्याउने बताइन । शुरुका १५ दिनमा किसानलाई ट्रष्टमा निशुल्क बिक्रि वितरण गर्ने वातावरण हुनुपर्ने बताइन । तुलसीपुर उपमहानगरपालिका आर्थिक विकास समितिका संयोजक तथा प्रवक्ता माधव वलीले किसानलाई तरकारी बजारसंग जोड्नका लागि हाटबजारले महत्वपुर्ण भूमिका खेल्ने उनले बताइन ।