काठमाडौं, साउन २८ । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयनको अधिकार सभापति शेरबहादुर देउवालाई प्रदान गरेको छ ।
पार्टीबाट उम्मेदवारी दर्ता गर्न सभापति देउवाले उम्मेदवारी मनोनयनको औपचारिक पत्र दिने निर्णय बैठकले गरेको छ ।
शनिबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विधानको व्यवस्थाबमोजिम प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको मनोनयनको औपचारिक पत्र दिने निर्णय गरेको हो ।
त्यस्तै बैठकले आकांक्षीहरुको नाम सिफारिस गर्न तल्ला तहका कार्यसमितिलाई निर्देशन दिने भएको छ ।
बैठकले चुनावका लागि कांग्रेसको दल दर्ता गर्ने जिम्मेवारी भने मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय गरेको छ ।
कांग्रेसले निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान भदौ १० गतेदेखि भदौ २४ गतेसम्म सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ।
मिश्रित निर्वाचन प्रणालीअनुसार नेपालमा ६० प्रतिशत प्रत्यक्षतर्फ निर्वाचित हुने र समानुपातिकतर्फ ४० प्रतिशत निर्वाचित हुने व्यवस्था रहेको छ ।