
दाङ,फागुन ७ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिले ६ सय ७४ वटा धारा वितरण गरेको छ । २०७३ सालमा फाराम भरेका मध्यवाट मंगलवार मात्रै खानेपानीले ती धारा वितरणको लागि नाम सार्वजनिक गरेको सचिव मनोज लामिछानेले जानकारी दिए ।
यसअघि तुलसीपुर उपमहानगरपालिकाले फागुन १५ गते भित्र धारा खोल्न खानेपानीलाई निर्देशन दिएको थियो । लामो समयसम्म उपभोक्ताको माग गरेबमोजिम धारा वितरण नगरेको तथा पानीको धारा मागगर्नेहरुको लागि आवेदन समेत खुल्ला नगरेको जनगुणासो बढेको भन्दै कार्यपालिका बैठकले १५ गतेसम्म फाराम खोल्न निर्देशन दिएको थियो ।
त्यही ताकेताको आधारमा तुलसीपुर खानेपानीले त्यो समयाबधी भन्दा एक हप्ता अगाडि नै धारा वितरण गरेको जानकारी दिएको छ । सचिव लामिछानेले दिएको जानकारी अनुसार आगामी महिनादेखि अब घर निर्माण गरेका सबैका लागि धारा वितरण गर्न फाराम खुल्ला गर्ने तयारी भएको जानकारी दिए ।
तुलसीपुर खानेपानीले झन्डै ६ हजार धारा हालसम्म वितरण गरेको छ भने थप सयौं उपभोक्ता धाराको माग गर्दै निवेदन दिइसकेका छन् ।