२०८१ फाल्गुन ७ गते बुधवार

राप्तीमा मनपरी उत्खनन् भएको अनुगमन समितिको निष्कर्ष

राप्ती नदी क्षेत्रको अनुगमन गर्दै ।

दाङ फागुन २।
जिल्ला अनुगमन तथा समन्वय समिति दाङले जनताको तटबन्ध र बड्का पथ सिचाई आयोजनालाई काम ‘व्यवस्थित’ गर्न निर्देशन गरेको छ । राप्ती नदीमा ‘अव्यवस्थित’ रुपमा नदीको प्रभाह नै परिवर्तन हुने गरेर नदीजन्य पदार्थको उत्खनन् गरेकोले व्यवस्थित गर्न निर्देशन दिएको जिल्ला समन्वय अधिकारी तथा अनुगमन समितिका सदस्य सचिव कृष्णप्रसाद गौतमले बताए ।

‘राप्ती नदीमा अनुगमन गर्दा नदीको प्रभाह नै परिवर्तन हुने गरेर अव्यवस्थित तरिकाले उत्खनन गरेको समितिले फेला पारेको छ’ समन्वय अधिकारी गौतमले भने ‘ त्यसलाई व्यवस्थित गर्नको लागि दुवै आयोजनालाई निर्देशन गरेका छौ ।’ आयोजनाले राप्ती नदीमा स्काभेटर प्रयोग गरेर काम गरिराखेको छ ।

जिल्ला अनुगमन समितिको स्विकृत विना नदी तथा खोलाहरुमा स्काभेटर तथा मेसिननरी औजार प्रयोग गर्न पाइदैन । अनुगमन समितिले जिल्ला अनुगमन तथा समन्वय समितिको निर्णय लिएर मात्र कामलाई अघि बढाउन समेत दुवै आयोजनालाई निर्देशन गरेको छ ।

माघ २९ गते समितिले राप्ती नदीको अनुगमन गरेको थियो । अनुगमनसँगै राप्ती गाउँपालिकाको जिल्ला अनुगमन तथा समन्वय समितिका बैठक बसेको थियो । बैठकले राप्ती गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननको लागि ठेक्का लगाएको क्षेत्रको स्पष्ट सिमाकंन गर्न र सो नभएसम्मको लागि उत्खनन् रोक्ने निर्णय गरेको छ । त्यसैगरेर बैठकले व्यवसायीले मिति र समय स्पष्ट खुल्ने गरी रसिदको व्यवस्था मिलाउने र रसिद काँट्दा घाटगद्दी गरेको निर्धारित क्षेत्र भित्र बसेर मात्र काटनु पर्ने निर्णय गरेको छ । निर्धारित क्षेत्रभन्दा बाहिर गएर रसिद काँटने काम भएमा कारवाही गर्ने समेत भएको छ ।

त्यसैगरेर सवारी साधन निस्कने बाटो पुर्व र पश्चिम एक एक वटा समेत तय गरेको छ । पुर्वतर्फको बाटोको जिम्मा गढवा गाउँपालिकाले र पश्चिमतिरको बाटोको जिम्मा राप्ती गाउँपाकिालाई दिने निर्णय समेत बैठकले गरेको छ । ‘बैठकले नदीजन्य पदार्थको उत्खनन्लाई व्यवस्थि बनाउने निर्णय गरेको छ’ अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले भने ‘ यसले नदी जन्य पदार्थमा भएको व्यथिति रोक्न बल पुग्ने छ ।’ उनले नदीजन्य पदार्थको उत्खनन्को वेथिति नरोके ठेक्का बन्द गर्ने समेत बताए । बैठक अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख नेपालीको अध्यक्षतामा बसेको थियो ।

अनुगमन टोदलीमा जिल्ला अनुगमन समितिका सदस्य तथा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेल, गढवा गाउँपालिका प्रमुख सहजराम यादव, अनुगमन समितिका सदस्य सचिव तथा जिल्ला समन्व अधिकारी गौतम, प्राविधिक टोलीको सहभागिता थियो । यसैविच जिल्ला समन्वय समितिले गढवा गाउँपालिकाले टेण्डर खोल्नको लागि तयारी गरेको विभिन्न ठाउँको अनुगमन समेत गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको टोलीले गढवा गाउँपालिकाले नदीजन्य पदार्थको लागि टेण्डर खोल्ने तयारी गरेको विभिन्न स्थानको अनुगमन गरेको हो ।

 

 

प्रकाशित मिति : २०७५ फाल्गुन २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *