२०८३ बैशाख १३ गते आइतवार

घोराही उपमहानगरद्वारा तेक्वान्दो संघलाई खेल सामाग्री प्रदान

घोराही,असार २१ । घोराही उपमहानगरपालिकाले दाङ जिल्ला तेक्वान्दो संघलाई खेल अभ्यासका लागि खेल सामग्री हस्तान्तरण गरेको छ ।

नगरप्रमुख नरुलाल चौधरीले तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारी सहितको खेलाडीलाई मंगलबार कार्यक्रम गरि खेल अभ्यासका लागि म्याट हस्तान्तरण गरेका हुन ।

नगरप्रमुख चौधरीले घोराहीलाई खेल पर्यटनका रुपमा विकास गर्न पालिकाले चाहेको बताए । जसका लागि पालिकाले खेलकुद विकास प्रवर्द्धन कमिटी गठन गरि सबै खेलकुदको विकासमा लगानी गर्ने जानकारी गराए ।

पालिकाको नीति तथा कार्यक्रममा पनि यो विषय समावेश गरिएकाले खेल क्षेत्रका सबै विज्ञ र जानकारहरुको टिम तयार गरि खेल प्रवर्द्धनमा लाग्ने विश्वास दिलाए ।

यस्तै, स्थानीय सरकारले काम गर्न थालेयता घोराहीमा थुप्रै खेल पूर्वाधार विकासको काम भएको र केही स्थानमा जारी रहेकाले स्वस्थ्य नागरिक उत्पादन गर्नेदेखि खेलकुद प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

खेलकुद संरचना निर्माण भएपछि त्यसको उपयोगितामा खेलाडी र नागरिकको पहुँच पुर्याउन पालिका लागि परेको जानकारी गराए ।

उनका अनुसार घोराही उपमहानगरपालिकाले ३ लाखको लागतमा सय थान म्याट उपलब्ध गराएको छ । तेक्वान्दो संघका अध्यक्ष अधिकारीले जिल्ला खेलकुदमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएका बेला स्थानीय सरकारको खेलकुद प्रवर्द्धनका लागि साथ सहयोग अपरिहार्य रहेको बताए ।

हिजोका दिनमा खेल अभ्यासका लागि धेरै खालका समस्या झेल्दै आएको स्मरण गराउँदै अब त्यस्ता समस्या नदोहोरिने गरि सबै पक्षले भुमिका खेलेमा खेलकुदको सर्वाङ्गिण विकासमा टेवा पुग्ने बताए ।

खेल स्वस्थ्य नागरिक उत्पादन गर्ने थलो मात्रै भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उँचो राख्ने क्षेत्र पनि भएकाले यसको महत्त्व सबैले बुझ्न जरुरी रहेको बताए ।

घोराही उपमहानगरपालिकाले गरेको यो सहयोगले खेलाडीहरुमा उर्जा थप्ने काम गरेको बताउँदै उनले अगामि दिनमा यसैगरी सहयोग निरन्तरताको अपेक्षा गरे ।

दाङ जिल्ला तेक्वान्दो संघमा पहिलो पटक यसरी खेल सामग्री हस्तान्तरण गरिएको हो । दाङ जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष तिलक झाक्री, प्रशिक्षकहरु राकेश परियार, विरुभाई बज्राचार्य, तेजबहादुर परियारलगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको हो । कार्यक्रमको सहजीकरण जिन्सी शाखा प्रमुख उमेश शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *