तुलसीपुर,असार २० । तुलसीपुर उपमहानगरपलिकाले जथाभावी फोहोर गर्नेलाई कारबाही गर्ने गरी कठोर नीतिको तयारी गरेको छ ।
नगरलाई सरसफाई राख्नका लागि जथाभावी फोहोर गर्नेलाई जरिवाना गर्ने गरी नगरले तयारी गरेको हो ।
फोहोर सही व्यवस्थापन नहुँदा तुलसीपुरको बजार क्षेत्र दुर्गन्धित बन्दै गएको अवस्थामा उपमहानगरले कठोर नीति ल्याउन लागेको हो ।
नगरले फोहोर मैला जथाभावी गर्नेलाई ५ सयदेखि १० हजारसम्म जरिवाना गर्ने गरी नीति ल्याउन लागेको नगरका वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारीले जानकारी दिए ।
संयोजक भण्डारीले कुनै पनि नागरिकले आफूले गरेको फोहोर आफैले गर्ने प्रवृतिको विकास गर्न कठोर नीति ल्याउन लागेको बताए । उनले गल्ने र नगल्ने फोहोरलाई छुट्याउने र आफ्नो घर–टोल आफैले सफा नगरे कारवाही गर्ने बताए ।
तुलसीपुर उपमहानगरलाई दिगो रूपमा सरसफाई राख्न फोहोरको वर्गीकरण गरी फोहोर व्यवस्थापन गर्न पहिलो चरणमा सचेतनाको कार्यक्रम गरिने छ ।
सरसफाई तथा फोहोर मैला व्यवस्थापन शाखा प्रमुख माधव पौडेलले नगरलाई सफा, सुन्दर र नमुनायोग्य सहरको रूपमा विकास गर्न फोहोर व्यवस्थापनको थुप्रै योजना बनाएको बताए ।
उनले फोहोरको प्रकार हेरेर कारवाही गर्ने र जरिवाना गरिने बताए । उपमहानगरको आर्थिक ऐनमा भएको प्रस्तावलाई आधार मानेर फोहोर गर्नेलाई कारबाही गर्ने बताए ।