पोटली, असार १२ । ५८ बर्षीय डिल्लीराम न्यौंपाने दाङको दंगीशरण गाँउपालिका वडा नं.५ पोटली गाँउमा करिब सवा ९ बिगाहा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् ।
काठमाडौंबाट आएर न्यौंपानेले गरेको यो तरकारी खेती नै पश्चिम दाङकै सबै भन्दा धेरै क्षेत्रफलमा गरिएको खेती हो । गत बर्षदेखि खेती सुरु गरेका न्यौंपानेले स्थानीय १०÷ ११ जना दैनिक रोजगारीपनि दिएका छन् ।
उनी यसपटक झन्डै ५ बिगाहा क्षेत्रफलमा गौरब जातको टमाटर खेति मात्रै गर्दै छन् । बाँकी जग्गामा काउली, बन्दा, करेला, काँक्रा, भन्टा लगाएका खेति गर्ने योजना रहेको उनले बताए ।
यसअघि काँक्रा, भेडे खुर्सानी, फर्सी, लौका, टमाटर खेतिबाट न्यौंपानले झन्डै दश लाख आम्दानी लिएको बताए । अहिले बोडी, भन्टा र केही अकबरे खुर्सानी बाहेक ती सबै बोटहरु उनले फालेर नयाँ खेतिको लागि जमिन तयारी अवस्थामा राखेका छन् । ती बोटहरु सबै खाडलमा गाडेर मल उत्पादनको लागि खाडलमा गाडी सकेका छन् ।
अघिल्लो चैतदेखि उनले पोटलीमा स्थानीय पाँच जनाको करिब नौ बिगाहा १५ कठ्ठा मिलेको जग्गाको प्लट भाडामा लिएर तरकारी खेति सुरु गरेका हुन । प्रति कठ्ठा तीन हजार र बार्षिक साढे पाँच लाख जति भाडा तिर्छन । यो सबै काम उनी एकल लगानीमा गरिरहेका छन् ।
हालसम्म न्यौंपानेले तरकारी खेती गर्दा ब्यक्तिगत ३२ लाख खर्च भएको बताए । गत बर्ष मात्रै करिब १९ लाखको उत्पादित तरकारी बेच्न सफल भए । त्यसबाट सबै खर्च कटाएर दश लाख जति नाफा लिन सफल भएको उनले बताए ।
को हुन न्यौंपाने ?
न्यौंपाने कृषि प्राबिधिक हुन । घर काठमाडौंको टोखा– २ मा छ । जस्ले झन्डै २५ बर्ष सरकारी जागिरमा बिताए । त्यसपछिका अरु आठ बर्ष कृषि सम्बन्धि निजी कम्पनीमा काम गरे । काठमाडौंको सिता पाइलास्थित कर्मा ग्रुपमा मार्केटिङको रुपमा काम गरे ।
जस्ले बिहारबाट मल बिउ किसानलाई बेच्नुका साथै प्राबिधिक सहयोग पनि गर्दै आएको छ । त्यही काम गर्ने क्रममा उनी तीन महिना थाइल्याण्डमा कृषि सम्बन्धि तालिममा सहभागि हुन पाए ।
त्यो बाहेक धेरै पटक कृषि क्षेत्रका उच्च तहका प्राबिधिक तथा डाक्टर संग संगै काम गर्ने, घुम्ने मौका पाएपछि न्यौंपानेले थप दक्षता हासिल गरे ।
तरकारी खेती गर्न किन दाङ आए ?
न्यौंपानेले काठमाडौंदेखि पाँच सय किलोमिटर टाढा दाङमा आए र ब्यबसायिक तरकारी खेती गर्न थाले त रु दाङमा म्यानपावर पनि उपलब्ध रहेको तथा पुरुष भन्दा महिलाको संख्या धेरै पाइने हुँदा तरकारी खेती गर्न झनै सहज भएको उनले तर्क गरे ।
काठमाडौंमा खेतिगर्दा टनेल बनाउनु पर्छ भने दाङमा बिना टनेल पनि मज्जाले खेति गर्न सकिने हुँदा सजिलो रहेको भेद उनले खुट्याए । दाङको हावापानी, तापक्रम खेतिको लागि उपयुक्त रहेको उनले बताए ।
दाङ ब्यबसायिक तरकारी खेतीको लागि स्वर्गय भूमी भएको उनले बताए । नेपालकै उपयुक्त स्थान रहेको न्यौंपानेको बुझाई छ ।
साँच्चि राम्रो संग ब्यबसायिक खेतिगर्न सकेमा त्यसले पुरै नेपाललाई तरकारीमा आत्मनिर्भर बनाउन सक्ने न्यौंपानेको विश्वास छ ।
‘दाङ त तरकारी उत्पादनका दृष्टिले स्वर्ग हो,’ उनले भने ‘ मौसम, माटो र पूर्व पश्चिम राजमार्गसंग जोगिएको भूगोल पाउन अन्त मुस्किल पर्छ ।’ उनको तरकारी फार्म तुलसीपुरदेखि ९ किलोमिटर पश्चिममा पर्छ ।
न्यौंपानेले तुलसीपुर बजारदेखि पश्चिमको महेन्द्र नगर र कास्की पोखरासम्म उत्पादित तरकारी बेच्ने गरेको जानकारी दिए ।
पहिलो बर्ष तारबार वा संरचना निर्माण गर्दा खर्च बढी लाग्नु स्वभाविक हो । अबका दिनमा मल, बिउ, बिजन बाहेक उनले खर्च गर्नु पर्दैन । न्यौंपानेले अब मैले भौतिक संरचनामा लागनी गर्नु पर्ने अवस्था छैन । त्यसैले भविश्यमा थप बढी फाइदा लिने सक्छु भन्ने उनलाई लागेको छ ।
जिल्लामा स्थानीय धेरै बिदेश गएका छन् र खेतबारी त्यसै बाँझै पल्टिएका छन् । डिल्लीरामले दंगालीको स्वभाव कस्तुरीले आफ्नै बिनाको सुगन्ध खोजेर भौँतारिएको जस्तै रहेको बताए ।
त्यस्तो सोच जगाइदिने एउटा सरकारी निकाय हुनुपर्ने उनले बताए । जस्ले किसानलाई परेको बेला नयाँ नयाँ कुराहरु ल्याएर सहयोग गर्ने र प्राबिधिक कुराहरु उपलब्ध गराउने निकाय जरुरी रहेको उनी ठान्छन् ।
