घोराही, असार ८ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यक्रिया भएको छ ।
शरिरका विभिन्न भागमा फैलदै गरेको आँखाको क्यान्सरको आँखा रोग विशेषज्ञको टोलिले शल्यक्रिया गरेको हो ।
यस्तो शल्यक्रिया साबिक राप्ती अंचलमै पहिलो सफल शल्यक्रिया मान्न सकिने दाबी गरिएको छ ।
आखाँमा ट्युमर भएर लामो समयदेखि पीडित तुलसीपुर उपमहानगरपालिका वडा नं। १४ का प्रेमबहादुर वलीको आँखाको क्यान्सरको शल्यक्रिया गरिएको हो ।
प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराइका अनुसार वलीको अर्कौ आँखासमेत नरहेकोले अब उनी पुरै दृष्टिविहीन बन्न पुगेका छन् ।
भरतपुर क्यान्सर अस्पताल लगाएत विभिन्न अस्पतालहरुमा वलीको उपचार हुन नसकेर राप्ती आँखा अस्पताल रक्षाचौर पुगेका वलीको त्यहाँ कार्यरत आँखा क्यान्सर विशेषज्ञ तथा अकु प्लाष्टिक सर्जन डा. सुरेश रसाइली नेतृत्वको नेत्र चिकित्सक, अशिस्टेन्ट शान्ता रेग्मी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एनेस्थेसियोलोजिष्ट डा। कुन्दन घिमिरेसहितको टोलिले प्रतिष्ठानमा आँखाको गेडी लगायत सबै क्यान्सर निकालेर फालेको जानकारी दिइएको छ ।
विरामी विभिन्न अस्पतालवाट रिफर हुँदै आएको र उच्च जोखिम भएपनि आफुहरुले सफल शल्यक्रिया गरेको आँखा रोग विशेषज्ञ डा। रसाइलीले जानकारी दिए ।
विरामी रगतको मात्रा कमी, क्यान्सरको औषधि सेवन गरि रहेको, रगतमा प्रोटिनको कमि रहेको अवस्थामा अस्पतालमा भर्ना भएको हुँदा उनको शरिरमा दुई पोका रगत चढायर मात्रै शल्यक्रिया गर्न संभव भएको रसाइलीले बताए ।
प्रतिष्ठानमा एनेस्थेसियासहितका चिकित्सक र अत्याधुनिक अप्रेसन कक्ष रहेको हुँदा अप्रेसन गर्न सहज भएको डा. रसाइलीले दाबी गरे ।