वसन्त विवश आचार्य,
तुलसीपुर, असार २६ । हामीले पानी खाएर फाल्ने वोतलबाट पनि घर वन्छ भन्दा सुन्नेहरुलाई आश्चर्य लाग्न सक्छ । तर गरे यो पनि सम्भव हुँदो रहेछ भन्ने कुरालाई तुलसीपुर उपमहानगरपालिकाको एउटा सामुदायिक विद्यालयमा प्रमाणित गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ कालाखोलामा रहेको मावि कालाखोलामा शनिवार नयाँ रौनक थियो । ठूलो स्पिकरमा ठूलै आवाजमा कहिले “सालको पात ” त कहिले “मन मगन” वजिरहेको थियो अनि त्यसैको तालमा रमाउँदै कोही माटो, ढुँगा वोकिरहेका थिए त कोही प्लाष्टिकका खाली बोतलहरु भरिरहेका थिए , अनि कोही माटो खन्दै थिए ।
टिच फर नेपालको समुदायमा आधारित क्रियाकलाप अन्तर्गत विभिन्न क्षेत्रका मानिसहरु त्यहाँँ सहभागी थिए । विद्यार्थीहरुले रमाउँदै नयाँ कुरा सिकुन् भन्नका लागि उनीहरु लर्निङ्ग सेन्टर निर्माण गर्न लागिरहेका थिए । टिच फर नेपालका नयाँ प्रज्ञार्थी,शिक्षक , अभिभावक, विद्यार्थी, जनप्रतिनिधि लगाएत विभिन्न क्षेत्रका १ सय वढि मानिसहरुले आआफ्नो जिम्मेवारी सम्हालेर काम गरिरहेका थिए ।
सामुदायिक विद्यालयमा विज्ञान, गणित र अँग्रेजी शिक्षकको व्यवस्था गर्दै आएको टिच फर नेपालले समुदायमा आधारित काम अन्तर्गत समुदायकै लगानीमा लर्निङ्ग सेन्टर निर्माण गर्न लागेको निर्देशक शिशिर खनालले वताए । उनले टिच फर नेपाल मार्फत विभिन्न विद्यालयमा अध्यापनका लागि जाने शिक्षकहरुलाई यस्तो तालिममा सहभागी वनाइने वताए । “विद्यालयमा गएर वालवालिकालाई विद्यार्थी मानेर मात्रै अध्यापन गराउँदा त्यो प्रभावकारी नहुन सक्छ विभिन्न सामाजिक परिवेशमा लगेर सहभागी वनाएपछि व्यवहारिक ज्ञान समेत हुन्छ” खनालले वताए ।
उनले विभिन्न जिल्लाबाट आएका करिव १ सय टिच फर नेपालका प्रज्ञार्थीहरुलाई विद्यालय वरपरका विभिन्न अभिभावकको घरमा राखेको पनि वताए । फरक फरक घरमा राख्दा विद्यार्थीले घरमा कस्तो वातावरण पाउँदो रहेछ भन्ने वुझ्ने भएकाले नै यस्तो गरिएको खनालले वताए । विहिवार देखि रहेको प्रज्ञार्थीहरु समुदायका मानिसहरुको घरमा आइतवार सम्म रहने छन् । संस्थाको उद्देश्य विभिन्न विकासका कामहरु गर्नु नभएपनि समुदायप्रति जिम्मेवार वनाउन यस्तो कार्यक्रम सञ्चालन गरिएको उनको कथन थियो । उनले समुदायमा आधारित काम अन्तर्गत विभिन्न जिल्लामा सामुदायिक काम गरिसकेको समेत वताए ।
यसरी वन्यो लर्निङ्ग सेन्टर
टिच फर नेपालको अँग्रेजी विषयको फेलोका रुपमा गत वैशाखमा विद्यालयमा आउँदा विडी योकी राइसँग मिठा सपनाहरु थिए । अँग्रेजी भन्ने वित्तिकै डराउने विद्यार्थीहरुलाई अँग्रेजीमा पोख्त वनाउने उनको धोको थियो । उनले कक्षामा विद्यार्थीहरुलाई विभिन्न तरिकाले अध्यापन गराउने प्रयास गरिन् । उनले सोचेजस्तो केही परिवर्तन भयो तर उनी उत्साहित हुन भने सकिनन् । उनले त्यसपछि अर्को बाटो रोजिन् लर्निङ्ग सेन्टर वनाउने ।
विद्यालयमा खाली रहेको एउटा कोठालाई उनले लर्निङ्ग सेन्टरमा रुपान्तरित गरिन् । राईले विद्यालय समय सकिएपछि समुदायमा पाइने विभिन्न कच्चा पदार्थको प्रयोगबाट विभिन्न कलात्मक आकृतीहरु वनाइन र त्यसबाट अँग्रेजीतर्फ विद्यार्थीहरुलाई प्रेरित गरिन् । उनले सोचे जस्तो एउटै कोठामा सबै सम्भव भएन । लर्निङ्ग सेन्टरकै लागि अर्को कोठा वनाउन सम्भव पनि थिएन । उनले यस्तैमा विकल्प रोजिन् । “खेर गएका खाली बोटलबाट पनि वनाउन सकिन्छ भन्ने सोचेर वनाउने पहलको सुरुवात गरे ” राईले भनिन् । विद्यालयमा जग र पिलर मात्रै हालिएको संरचना थियो । उनले लर्निङ्ग सेन्टरका लागि त्यसैलाई उपयुक्त ठानिन् ।
उनले विद्यार्थीहरुलाई खाली वोतल जम्मा गर्न प्रेरित गरिन् । आवश्यक आर्थिक सहयोगका लागि उनले तुलसीपुर उपमहानगरपालिका, सोनापुर सिमेन्ट उद्योग लगायत विभिन्न क्षेत्र गुहारिन् । सोचे अनुकुल सबैले सहयोग समेत गर्दै गए । अन्ततः उनले शनिवारबाट यसको निर्माण गर्न आरम्भ गरिन् ।
कस्तो हुनेछ लर्निङ्ग सेन्टर
लर्निङ्ग सेन्टरको अवधारणा अगाडि वढाइरहेकी राईलाई अव भने विद्यार्थीहरुलाई उत्साहित तवरले अध्यापन गराउन सकिन्छ भन्ने सोच पलाएको छ । उनले लर्निङ्ग सेन्टरमा स्थानीय कच्चा पदार्थको प्रयोग गरेर विद्यार्थीहरुलाई नै सक्रिय वनाउँदै विभिन्न विषयसँग सम्वन्धित आकृतिहरु निर्माण गर्नेछिन् । उनले वनाउने लर्निङ्ग सेन्टरमा विद्यार्थीका विभिन्न कलात्मक कुराहरुलाई समेत समावेश गरिनेछ । “हरेक विद्यार्थीसँग कुनै न कुनै प्रतिभा लुकेर रहेको हुन्छ त्यसलाई प्रस्फुटन गराउने काम पनि हामीले गर्नेछौ” राईले वताइन् ।
तुलसीपुर उपमहानगरपालिकाका ९ वटा सामुदायिक विद्यालयहरुमा १९ जना फेलोहरुले टिच फर नेपाल मार्फत विज्ञान, गणित र अँग्रेजी अध्यापन गराइरहेका छन् ।