दाङ, जेठ २९ । शिक्षा प्रेमी स्व. बलदेव गोतमकी धर्मपत्नी बाट आफ्ना पतिको नाममा पाँच लाख राशिको “बलदेव गौतम स्मृति पुरस्कार स्थापना गरिएको छ ।
घोराही उपमहा नगरपालिका रझेना स्थित श्री माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापकको रूपमा समेत सेवा गरेका रझेना दाङ निवासी स्वर्गीय बलदेव गौतमकि धर्मपत्नी तिलका गौतमबाट आफ्ना श्रीमानको स्मृतिमा उक्त श्री माध्यमिक विद्यालयका अध्ययन गर्ने गरिब तथा जेहेन्दार छात्र छात्राहरूलाई पुरस्कार दिन बलदेव गौतम स्मृति पुरस्कार कोष स्थापना गरेका हुन ।
उक्त पुरस्कारको स्थायी श्रोतको लागी अक्षयकोष स्थापना गर्न रु पाँच लाख रकम आइतवारै विद्यालयलाइ हस्तान्तरण गरिएको छ । लामो समय आफ्ना पतिले शैक्षिक क्षेत्रमा गरेको सेवा तथा समर्पणको चीर स्मरणको लागी उक्त पुरस्कारको स्थापना गरीएको परीवारले जनाएको छ ।
अक्षयकोषको राशि उक्त माविमा रहेका अन्य अक्षयकोष मध्ये सबैभन्दा ठुलो भएको कुरा उक्त माविका प्रधानाध्यापक उद्धव न्यौपानेले जानकारी दिएका छन् ।
यही ज्येष्ठ २६ गते भएको रकम हस्तान्तरण समारोहमा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जीवन गौतमले स्वर्गीय बलदेव गौतमले शिक्षा क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए ।
अक्षयकोषबाट पुरस्कार वितरण गरिने प्रक्रिया बारे प्रधानाध्यापक उद्धव न्यौपानेले विस्तृत जानकारी गराएका थिए । उक्त कार्यक्रममा स्व. बलदेव गौतमका माहिला छोरा अमर गौतम, छोरी शिला पोख्रेल र जुवाइँ बिनोद पोख्रेल तथा विद्यालय परिवारकाका अन्य सदस्यको समेत उपस्थिति रहेको थियो ।
दाङको घोराही उपमहानगर पालिका वार्ड नं १८ रझेना अस्थित श्री माध्यमिक विद्यालय, त्यस क्षेत्रको ऐतिहासिक शैक्षिक थलोको रूपमा मानिन्छ र त्यस स्कुल स्थापनाको लागी निरन्तर लागि पर्ने व्यक्तित्व मध्यको एउटा नाम स्व. बलदेव गौतमका घर आगन छेउमै भएर मात्र उनले स्कुल स्थापनाको प्रयास गरेनन्, जनतालाई शिक्षित नबनाए सम्म जनता चेतनाको स्तर वृद्धि हुँदैन र जनचेतना नबढेसम्म समाजबाट गरिबी हट्न सक्दैन समाजको विकास हुँदैन भन्ने सोच राख्दै आफूले शिक्षा आर्जन गर्न जनता महाविद्यालय बिजौरी समेत पुगेका थिए ।
बिजौरीमा शिक्षा आर्जन गरी शिक्षा क्षेत्रमै आफूले ठुलो योगदान गरेका थिए । एउटा मध्यम वर्गीय परिवार आफूलाई खान लगाउन काम गर्नै पर्ने बाध्यता नभए तापनि शिक्षाको विकास बिना कुनै पनि घर, परिवार, समाज तथा राष्ट्रको उन्नति प्रगति हुन सक्दैन भन्ने मूल मन्त्रकारसाथ उनले सुरुमा हालको बंगलाचुली गाविसको कमिरे चौरमा रहेको माध्यमिक विद्यालय अध्यापन थालेका थिए ।
त्यस स्कुल सञ्चालनको लागी आवश्यक प्रशासनिक, भौतिक तथा आर्थिक रूपमा समेत ठुलो सहयोग गरेका थिए । पछि घोराही नजिक घोर दौरा कोटमा समेत स्कुल सञ्चालन गर्दै पठन पाठन गराउने काम गरे । उक्त स्कुललाई कहिले अम्बापुरमा कहिले रझेनामा सारेर समेत सञ्चालन गराउने अवस्था समेत सृजना भएको थियो ।
पछि रझेनामा सञ्चालन भैरहेको स्कुल पुनः घोर दौरा फर्काउनु पर्ने बाध्यता भए पछि रझेनामा स्कुलको अभाव देखि तत्कालीन अवस्थामा राजाको सवारी भएको मौका पारी त्यस क्षेत्रका शिक्षा प्रेमीहरूलाई जुटाई राजा समक्ष बिन्ती पत्र हाल्न लगाई पुनःरझेनामा स्कुल खोल्न सफल भएका थिए ।
यसरी निरन्तर रूपमा शिक्षा क्षेत्रमा योगदान गर्दै २०२८ साल सम्म संस्थापक प्रधान अध्यापकको रूपमा श्री माविमा सेवा गरेका थिए । पछि पद्मोदय स्कुल भरतपुर हुँदै महेन्द्र बहुमुखी क्याम्पसको प्रशासकीय अधिकृत सम्मको पदमा पुगी आफू सेवा निवृत्त भएका थिए ।
उनी आफ्नो घर परिवारको मात्र प्रेरणाको श्रोत नभएर आफ्नो गाउँ घर, अन्य परिवार तथा समुदायकै सदस्यहरूलाई शिक्षाको उज्यालो ताराका रुपमा चिनिएका थिए । विसं १९८९ सालमा जन्मेका स्व गौतमको २०७५ चैत्र २५ मा ८५ वर्षको उमेरमा निधन भएको थियो ।