तुलसीपुर,जेठ २६ । तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेस,माओवादी केन्द्र र स्वतन्त्रबाट निर्वाचित वडाध्यक्षहरुले कार्यपालिका बैठक बहिस्कार गरेका छन ।
बिहीबार बिहान बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकमा एमालेबाट निर्वाचित व्यक्तीहरुले एक्लौटी निर्णय गर्न खोजेपछि बहिस्कार गरेका हुुन् ।
विषयगत समिति गठन गर्ने क्रममा एकलौटि निणर्य भएको भन्दै बैठक बहिस्कार गरिएको नेपाली कांग्रेसबाट निर्वाचित कार्यपालिका सदस्य तथा वडा नं. ५ का अध्यक्ष बिरेन्द्र शाहले जानकारी दिए । ‘बैठकमा एकलौटि तरिकाले पार्टी कार्यालय जसरी उपमहानगरपालिका चलाउन खोजियो,शाहले भने,‘ विषयगत समितिमा एमालेका मात्रै भर्ति गर्न खोजेपछि हामीले कार्यपालिका बैठक बहिस्कार गरेका हौं ।’
उनले यदि यसरी नै एकलौटी भए आफूहरुले आगामी दिनमा थप कडा तरिकाले प्रस्तुत हुने चेतावनि पनि दिए । ‘मेयरको भनाई र गराईमा निकै फरक भयो,हामीले नगरबासीको साझा मेयरको रुपमा भूमिका निर्वाह गर्नुुस्,भनेका छौं’,उनले भने‘तर, उहाँले एमालेबाट निर्वाचितहरुलाई मात्रै शाखा,महाशाखाको जिम्मेवारी दिनुभयो,समान सहभागिता भएन,यो निणर्य हामीलाई मान्य छैन,यो सरासर जनप्रतिनिधि माथिको अपमान हो ।’
आफुहरुको बहुमत भएकोले पनि एमालेले कार्यपालिकामा बल मिचाई गर्न खोजेको वडा न। ९ का अध्यक्ष घनश्याम ढकालले बताए । उनले गठबन्धनलाई पाखा लगाएर आफूलाई मात्रै लेखा समितिको संयोजक बनाएको भएपनि आफूले त्यो जिम्मेवारी नैतिकताका हिसाबले नलिने समेत उनले बताए ।
१९ वटै वडालाई ब्यबस्थित बनाउका लागि सबै वडाध्यक्षहरुलाई समान रुपमा जिम्मेवारी दिनुपर्ने भएपनि एकलौटि जिम्मेवारी दिदा त्यसले सबै वडाको भावना समेत समेट्न नसक्ने स्वतन्त्रबाट निर्वाचित तुलसीपुर १६ का वडाध्यक्ष शिवानन्द डाँगीले जानकारी दिए ।
उनले बहुमतका आधारमा पेल्न खोज्दा ठूला–ठूला तानाशाह पल्टाउन सफल भएको भन्दै यस्ता कार्य दोहोरिएमा आफूहरुले जस्तोसुकै कदम पनि चाल्न सक्ने प्रष्ट पारे । तुलसीपुर उपमहागरपालिकाको कार्यपालिकामा एमालेको बहुमत छ । यहाँ मेयर र उपमेयरसहित २९ जना कार्यपालिका सदस्य रहेको तुलसीपुरमा एमालेका मात्रै १९ जना कार्यपालिका सदस्य छन्, भने गठबन्धनबाट काँग्रेसका ५, माओवादी केन्द्रका ३ र स्वतन्त्रका एक जना रहेका छन् ।
यसैबिच तुलसीपुर उपमहानगरपालिकाका सम्पूर्ण विभागको जिम्मा एमालेलाई मात्रै प्रदान गरिएको छ । एक कर्मचारीका अनुसार सुसाशन विभागको नेतृत्व धर्म वली,आर्थिक समितिको नेतृत्व माधव वली,सामाजिक विकासको नेतृत्व मानबहादुर रावत, विपत ब्यबस्थापनको दुजमान भण्डारी, पूर्वाधारको नेतृत्व विरबहादुर विक, विद्येयक निर्माणको नेतृत्व भिमबहादुर योगी, अनुगमन, योजना तथा बजेट र राजश्वको नेतृत्व स्यानी चौधरीलाई प्रदान गरिएको छ ।
उनीहरु सबै एमालेबाट निर्वाचित हुन् । साथै मेयरको प्रबक्ताको जिम्मा माधव वलीलाई प्रदान गरिएको छ भने प्रेस संयोजक गोकर्ण पौडेललाई नियुक्त गरिएको छ ।