बाँके, जेठ २२ । बाँकेको राप्ती सोनारी गाउँपालिकामा नदीजन्य पदार्थको मनपरी उत्खनन र घाटगद्दी भएको पाइएको छ ।
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषासिंह थारुसहित वडाअध्यक्ष र कार्यपालिका सदस्य तथा कर्मचारीको संयुक्त अनुगमन टोलीले त्यस्तो निष्कर्ष निकालेको हो ।
दुई दिनसम्म गरिएको अनुगमण बाट राप्ती सोनारीको वडा नम्बर ४, ५ र ६, वडा नम्बर २, ८ र ९ का विभिन्न स्थानमा राप्ती नदीमा मनपरी उत्खनन् गरि घाटगद्दी गरेर नदी जन्य पदार्थ थुपारेको अवस्थामा पाइएको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिए ।
‘अधिकांस स्थानमा नदीजन्य पदार्थको अबैध उत्खनन र घाटगद्दी गरेको पाइयो,’ अध्यक्ष पौडेलले भने ‘प्राविधिक नापजाँच गर्दा अनुमति भन्दा धेरै बढी नदीजन्य पदार्थ फेला परेको छ।’ अध्यक्ष पौडेलले राजश्व तिरेको रकम थोरै, तर सामाग्री धेरै राखेको अबस्था देखिएको बताए ।
मापदण्ड बिपरित बीच जंगलमा समेत नदी जन्य पदार्थको घाटगद्दी गरेको पाइएको हुँदा त्यो पनि शंकाष्पद रहेको उनले बताए । ‘हामी कानुनी आधारहरुको पनि अध्ययन गर्दैछौं,’ पौडेलले थपे ‘उनीहरुले काम गर्ने अनुमति कसरी पाएका आधारहरु अध्यन गरि कारबाही थाल्छौं।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले संयुक्त अनुगमन टोलीले करिव ७० वटा जति स्थानमा नदी जन्य पदार्थको घाटगद्दी नापजाँच गरेका जानकारी दिए ।
‘एउटै घाटगघीबाट हामीलाई डेढदेखी दुई करोड राजश्व आउने अनुमान प्रक्षेपन गरेका छौं,’ उनले भने ‘सानो तीनो घाटगद्दीबाट पनि ४÷५ लाख आउने अनुमान गरेका छौं ।’ गाउँपालिकाले विगत दुई वर्षदेखि राप्ती सोनारीका नदी खोलामा ठेक्का लगाउन सकेको छैन ।