२०८१ असार ८ गते शुक्रवार

हे भगवान ! तै ले यस्तो के नगर्नु गरिस ?

मैले पाइलट हैन उस्लाई डाक्टर बनाउन चाहेको थिए – बुवा मनिराम पोखरेल

दाङ, जेठ १६ । आइतबार बिहान पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको बिहान दुर्घटनामा परि २२ जनाको मृत्यु भयो । उक्त जहाज दुर्घटनामा परि १३ नेपाली, चार भारतीय, २ जर्मन र तीन जना चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको छ ।

रुकुमका मनिराम पोखरेल छोराको मृत्युको शोकमा बिक्षिप्छन् । बुवा मनिरामले भने ‘ हामी माथि ठूलो बज्रपात प¥यो ।’

शबको सनाखद नहुँदै जहाज दुर्घटनामा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं.– ३ लापुतेका २५ बर्षीय पाइलट उत्सब पोखरेलको मृत्युको खबर हावा गतिमा फैलि सकेको थियो । लापुते गाउँ पुरै शोकमा छ । पछिल्लो समय पोखरेल परिवार दाङको बिजौरी बस्दै आएको थियो । बिजौरीमा पाइलट उत्सवको मामा घर हो । नेपालगञ्जमा पनि उनीहरुको घर छ ।

बुवा मनिरामका अनुसार उनका कान्छा छोरा उत्सवब बैशाख १५ गते २४ बर्ष पुरा भइ २५ बर्षमा पाइला टेकेका थिए ।

पोखरेलले एक बर्ष पहिले सन २०२१ को अप्रिलमा मात्रै तारा एयरमा जागिर सुरु गरेका थिए । फिलिपिन्सबाट पाइलट कोर्ष पुरा गरेर स्वदेश फर्केपछि उत्सवले तारा एयरमा काम सुरु गरेको बुवा मनिरामले बताए ।

जाजगरकोटमा शिक्षा स्रोत ब्यक्तिको रुपमा कार्यरत मनिराम जेठ १४ गते बेलुका जाजरकोटको खलंगा आएर एक होटेलमा बसेका थिए । प्रमुख प्रशासकीय अधिकृतपनि उनको साथमै थिए । होटेलमा वाइफाइको सुबिधा थियो । उनीहरु त्यो रात त्यही होटेलमा बास बसे । रातभर वाइफाइ खुल्लै रह्यो ।

जेठ १५ गते बिहान साढे चार बजे मनिरामका कान्छा छोरा पाइलट उत्सवले भिडियोमा कल गरे । उत्सवले गरेको पहिलो भिडियो कल बुवा मनिरामले उठाएनन् । उनी सुतैकै थिए । त्यसैले काटिदिए । तर, छोरा उत्सवले त्यसको दश मिनेट पछि फेरि भिडियो कल गरे । अनि बुवा मनिरामले फोन उठाए र सोधे – के कान्छु तेरो हाल खबर ? कहाँ छस ?

‘त्यति खेर उस्ले चिया पिउँदै थियो । उस्ले म पोखरा छु ड्याडी र अहिले साढे पाँच बजे लुक्ला फ्लाईट छ र म त्यसैको तयारीमा छु भनेर भन्यो,’ छोरा उत्सब संगको संबाद संझिदै बुवा मनिरामले भने ‘ यति बिहानै फ्लाईट हुन्छ त भनेर मैले सोधे । उस्ले आज मेरो पाँच फ्लाट छ भनेर भन्यो ।’

पोखरा–लुक्ला, जोमसोम लगाएतका ठाउँमा पाँच फ्लाइट रहेको छोरा उत्सवले बताए । आँफु दिउँसो १ बजे काठमाडौं पुगिसक्ने र त्यसपछि फोन गर्ने बाचा उत्सवले बुवा मनिरामसंग ब्यक्त गरे । ‘हुन्छ त शुभयात्रा राम्रो संग गयस र काठमाडौं पुगेपछि फोन गरेस है मेरो काम छ भनेर मैले भने,’ मनिरामले थपे ‘ उस्ले हुन्छ भन्यो र मलाई प्रश्न ग¥यो, किन तपाँई यति रातिमा पनि अनलाईनमा हुनुहुन्छ भनेर सोध्यो । किन अनलाइनमै हुनुहुन्छ भनेर मैले फोन हानेको हुँ भनेर भन्यो।’

बुवा मनिरामले होटेलमा वाइफाइ कनेक्ट गर्न लगाएपछि आँफुले त्यो अफ नगरी सुतेको हुँदा अनलाइनमै रहेको छोरा उत्सवलाई बताए । फेरि शुभयात्रा भनेर बाबु छोरा छुट्टिए । बाबु– छोरा बीचमा भएको त्यही नै अन्तिम कुराकानी थियो ।

त्यो कुरापछि बुवा मनिराम फर्किएर आफ्नो कार्यक्षेत्र तर्फ लागे । सवा दश बजेतिर मात्रै उनले छोरा उत्सवसहितको पाइलट टोलीले उडाएको प्लेन हराई रहेको सूचना पहिलो पटक सुने ।

छोरा उडेको प्लेन हराइ रहेको खबरले बुवा मनिराम ब्याकुल बने । के गरु कसो गरु भनेर छटपटाउन थाले । समाचार हेर्न र सुन्न थाले । तर, बेलुका भइसक्दापनि प्लेन फेला परेन । उनका छोरासहित २२ जनाको अवस्था अज्ञात नै थियो ।

दाङ तुलसीपुरको बिजौरीमा रहेकी श्रीमति उशालाई खबर गरे । उनी बिजौरीमा पढाउँछिन । श्रीमति उशा र आफन्तहरु रुँदै फोन सम्पर्क गर्न थाले । आँफैलाई सम्हाल्न गाह्रो भइरहेको समयमा मनिरामलाई श्रीमति र आफन्तलाई फोनमा संझाउन निकै गाह्रो थियो । जति पीडा बोध भएपनि संहालिनु र सहनुको बिकल्प थिएन ।

‘उत्सव सानैदेखि निकै टाँठो बाठो र सबै कुरा जानेको एक ज्ञानी बालक थियो,’ मनिरामले भने ‘रुकुमै दश कक्षासम्म पढदापनि उस्ले टपेको थियो र काठमाडौंको भिएस निकेतनमा पढ्दा पनि राम्रो नम्बर ल्याएको थियो ।’

त्यसपछि उत्सबले फिलिपिन्समा पाइलट पढ्न जाने इच्छा जाहेर गरे । त्यो सुनेर बुवा मनिराम आँफै काठमाडौं पुगेर छोरा उत्सवलाई हप्ता दिन जति संझाउन प्रयास गरे । किनकी, मनिराम पाइलट हैन डाक्टर बनोस भन्ने चाहाना राख्थे ।

‘म आँफै काठमाडौं गएर हप्ता दिनसम्म पाइलट भन्दा डाक्टर पढ् भने कन्भिन्स गर्न खुब प्रयास गर्दापनि उस्ले मानेन,’ मनिरामले भने ‘ड्याडी मेरो इच्छा पाइलट हुने छ र म पाइलट नै बन्छु भनेपछि हामी उस्कै इच्छा अनुसार बाध्य भएर फिलिपिन्स पठाउन बाध्य भएका थियौं।’

छोराको इच्छा अनुसार ऋण साहु काडेर र भएको जग्गा जमिन पनि बेचेर पाइलट पढाउनका लागि फिलिपिन्स पठाएको मनिरामले बताए । उत्सबले आफ्नो रुचिको बिशष पाइलट बन्ने सपना राम्रै संग पुरा गरे । स्वदेश फर्किए पछि सुरुमा एटिआरको लागि प्रयास गर्ने कुरा चल्यो । तर, उत्सवले भनेझैं त्यसका लागि डोनेसन गर्नुपर्ने जति प्रयाप्त रकम मनिरामले जोहो गर्न सकेनन् । त्यसपछि उत्सव ट्विन्टर तर्फ लागे । यो बीचमा सबै राम्रो भइरहेको थियो । उत्सवले काम थालेको बर्ष दिन भइसकेको थियो ।

भाइ उत्सवकै प्रभावले र उनकै सल्लाहले दाइ उमेशपनि त्रिचन्द्र कलेजमा बिएसपी पुरा गरि पाइलट बन्ने सपना पच्छ्याउँदै फिलिपिन्स पुगे । उमेशपनि पाइलट कोर्ष पुरा गर्ने लगभग अन्तिम तिर पुगेको बुवा मनिरामले बताए । ‘ मैले त जेठो छोरा उमेशलाई पनि पाइलट नै किन पढ्नु प¥यो भनेर संझाउन खोजेको थिए,’ मनिरामले भने ‘ तर, भाइकै प्रभाव र सल्लाहले उस्ले पनि पाइलट नै पढ्ने इच्छा गरेपछि केही लागेन ।’

फिलिपिन्समा पाइलट कोर्ष गरिरहेका उमेश भाइ तथा पाइलट उत्सवको निधनको खबरपछि नेपाल आउने तयारीमा छन् । अब जेठो छोरा उमेश घर आएपछि फेरि फिलिपिन्स पाइलट कोर्ष पुरा गर्नका लागि जान दिनु हुन्छ ? भनी सोध्दा – बुवा मनिरामले – अन्तिम चरणमा पुगेको पाइलट कोर्ष पुरा गर्न जान दिनबाट नरोक्ने बताए । तर, जेठो छोरा उमेश कोर्ष पुरा गरि स्वदेश फर्किए पछि पाइलट बन्ने कि ? अरु कुनै गर्ने ? भन्ने बारेमा आँफुले सोध्ने तथा संझाउने बुवा मनिरामले जानकारी दिए ।

‘ उमेशको पनि कोर्ष पुरा गर्न अब लाष्ट लाष्ट अबस्था भएको छ,’ मनिरामले भने ‘ अब करिब दुई तीन महिना जति मात्रै बाँकी छ । त्यो भरी उस्ले पुरा गरोस । बाँकी सरसल्लाह पछि हुने छ ।’ मनिरामले आफ्नो कान्छो छोरा उत्सब चिक्ष्ण बुद्धिको, सहयोगी, सहिस्नु रहेको तथा अहमता भन्ने कुरा उत्सवमा नरहेको जानकारी दिए ।

उनको त्यही क्षमताकै कारण अबको डेढ दुई महिना पछि तारा एयरले नै थप एडभान्स कोर्षका लागि उत्सवलाई थाइल्याण्ड पठाउने तयारी गरिहेको बुवा मनिरामले बताए ।

‘ भरोसा युक्त जवानी भरिएको स्मार्ट छोरा गुमाउँदा हामीलाई ठूलो बज्रपात परेको छ,’ मनिरामले भने ‘ कल्पनै नगरेको बज्रापत प¥यो । सायद राम्रो ब्यक्तिलाई भगवानले पनि पहिलै लाँदो रहेछन् ।’

बिहेको कुरा झिक्दा कान्छो छोरा उत्सवले जहिलै उमेरै नभएको र यदी गर्नु परेपनि दाजु उमेशले पाइलट कोर्ष पुरा गरी स्वदेश फर्किएपछि दाजु भाइले संगै बिहे गर्ने भनेर जबाफ दिने गरेको बुवा मनिरामले बताए ।

क्याप्टेन प्रभाकर घिमिरे जस्तो राम्रो र अनुभवी पाइलटले उडाएको बिमान दुर्घटना कसरी भयो ? भनेर आँफुपनि आश्चर्यमा परेको मनिरामले बताए । अहिले आँफुलाई उत्सवले तारा एयरमै भएपनि नेपालगञ्ज – डोल्पा, हुम्ला, जुम्ला–कालीकोट तिर भइ दिएको भए यस्तो हुँदैन थियो कि ? भन्ने लागि रहेको उनले बताए ।

‘ म बाँच्दासम्म छोरा उत्सवलाई गुमाएको पीडा कहिलै भूल्न सक्छु जस्तो लाग्दैन,’ रुँदै मनिरामले भने ‘ हे भगवान तै ले यस्तो के नगर्नु गरिस ?’

प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *