पोखरा, जेष्ठ १५ । कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।
आइतबार बिहान ९ बजेर ५५ मिनेटमा उडेर १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज साढे १२ बजिसक्दा पनि सम्पर्क बिहीन रहेको हुँदा दुर्घटनामा परेको अनुमान गरिएको छ ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, कोपाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए ।
पछिल्लो पटक जोमसोम आकाशमा देखिएको जहाज धौलागिरि हिमालतर्फ फर्किएपछि सम्पर्क बिहीन बनेको जानकारी दिइएको छ । यसैबीच मौसममा आएको खराबीका कारण खोजीमा गएको हेलिकोप्टर जोमसोम विमानस्थलमा फर्किएको छ ।
हुस्सु र पानी परेकाले खोजी र उद्धारका लागि गएको फिस्टेल एयरको हिलिकोप्टर फर्किएको छ । मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसा अन्तिम समय सम्पर्कमा आएको लेते पास र धौलागिरि श्रृंखला आसपासका क्षेत्रमा प्रहरी र स्थानीय खटाइएको जानकारी दिए ।
