तुलसीपुर, जेठ ६ । तुलसीपुर उपमहानगरपालिकामा १९३५४ मत गन्दा नेपाली काँग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीले १११ मतले अगाडि छन् ।
पछिल्लो मत परिनाम अनुसार गठबन्धनका साझा उम्मेदवार गिरीले ७९९९ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका मेयर पदमा उम्मेदवार टीकाराम खड्काले ७८८८ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयर पदमा एमालेकी उम्मेदवार श्यानी चौधरीले सुरु देखिकै अग्रता कायम राखेकी छिन् । चौधरीले ७३२३ र गठबन्धनबाट उपमेयरका उम्मेदवार नेकपा एकीकृत समाजबादीका जोगबहादुर राना मगरले ६१८९ मत प्राप्त गरेका छन् । एमालेकी चौधरी राना भन्दा ११२४ मतले अगाडि छिन् ।
अहिले वडा नं. ३ र ६ मा गणना जारी छ । वडा नं. ३ को अध्यक्षमा एमालेका विरबहादुर बिकले १३१३ मत प्राप्त गरेका छन् भने गठबन्धन दलबाट नेकपा एकीकृत समाजबादीका मंगल नेपालीले १०४८ मत प्राप्त गरेका छन् । उनीहरु नाताले काका भतिजा हुन ।
त्यस्तै वडा नं. ६ मा काँग्रेसका लोकराज डाँगी र एमालेका दुजमान भण्डारीले बराबर मत प्राप्त गरेका छन् । दुबैले १३६० मत प्राप्त गरेका छन् ।
अहिले सम्म तुलसीपुर १, २, ४ र ५ नम्बर वडाको मात्रै मतगणना सकिएको छ । १ र ४ मा गठबन्धनबाट माओबादी केन्द्र, २ नम्बरमा एमाले र वडा नं. ५ मा नेपाली काँग्रेसले जितेको छ । तुलसीपुरमा १९ वडाहरु छन् । यहाँ ७० हजार बढी मतदान भएको छ ।