२०८१ मङ्सिर २७ गते बिहिवार

भित्र मतगणनाले उकुस मुकुस बाहिर मेयरका प्रमुख प्रतिस्पर्धी गेहेन्द्र गिरी र टीकाराम खड्का बीचमा देखिएको सौहार्दता

तुलसीपुर, जेठ ५ ।बैशाख ३० गते भएको स्थानीय निर्वाचनको मतगणना तुलसीपुर उपमहानगरपालिकामा जेठ ३ गते मध्यरातबाट मात्रै मतगणा सुरु भयो ।

यहाँ तुलसीपुर- १७ मा नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार लबरु चौधरीको निधनपछि निर्वाचन आयोगले जेठ ३ गते निर्वाचन गरायो । यो बाहेक तुलसीपुरका १९ वडाहरु मध्य सबैमा ३० गते नै निर्वाचन भइसकेको थियो ।

जेठ ३ गते दिनभर जसो प्रचण्ड गर्मी थियो । मतदान सकिदै गर्दा केही बेर तीब्र बेगको हावासहित बर्षा भयो । तर, क्षण भरमै रोकियो ।

मतदान सकिए लगतै जेठ ३ गते बेलुका देखि नै मतगणनाको तयारी गरिएको थियो । तर, बेलुका ८ बजेतिर सुरु गर्दै गर्दा तुलसीपुर बजार क्षेत्रमा एकाएक ठूलो हुरी बताँस चल्यो । तुलसीपुर अन्धकार भयो । नेपाल बिद्युत प्राधिकरणले जसो तसो तुलसीपुर बजार क्षेत्रको सरकारी वकिल कार्यालय क्षेत्र जहाँ मतगणना भइरहेको छ त्यहाँ बिजुली बत्तिको जोहो गर्‍यो । पुराना अञ्चल प्रहरी कार्यालय र अहिलेको प्रदेश प्रहरी इकाइको कार्यालय नजिकै हावाहुरीले रुख र ४ वटा जति बिद्युत पोलहरु ढालेको हुँदा जेठ ४ गते अबेर दिउँसोमा मात्रै मर्मतको काम सुरु भयो ।

चार गते बिहान पत्रकारलाई सूचना संकलनका लागि मतगणना स्थलमै छुट्टै संचार कक्ष छुट्याइयो । तर, त्यहाँ न इन्टर नेटको नै सुविधा थियो न पानीको । त्यही कक्षमा आएर गठबन्धन दलबाट नेपाली काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरी र नेकपा एमालेका मेयरका उम्मेदवार टीकाराम खड्का कुराकानी गरिरहेका थिए । पत्रकारले आँफुहरुले समाचार सम्प्रेशनमा भोग्नु परेको अप्ठेरो बारे उनीहरुलाई अबगत गराए ।

त्यो सुनेर गेहेन्द्र गिरीले भने – मैले के गरिदिए तपाँईहरुलाई सजिलो हुन्छ ? पत्रकारले भने – तपाँई यो कोठामा आफ्नो लगानीमा इन्टरनेटको ब्यबस्था गरिदिनुस । गिरीले तत्कालै त्यो ब्यबस्था गरि दिए । त्यहाँ पानीको पनि अभाव थियो । त्यो देखेर एमालेका मेयरका उम्मेदवारले पिउनु पानीको ब्यबस्थापन गरे । उनले कार्टुनका काटुन पिउने पानीको बोत्तल मगाई दिए ।

त्यसपछि संचारकर्मीपनि प्रफूल्ल भए । ल्याप टपहरु त्यही लगेर समाचार संकलन र सम्प्रेशन गर्ने पत्रकारलाई सहज भयो ।

जेठ ५ गते बिहान दश बज्नै लाग्दा मेयर पदका प्रमुख प्रतिष्पर्धी गिरी र खड्का संगै थिए । सायद यो बीचमा उम्मेदवारलाई जत्तिको छटपटी कस्लाई होला र ? तै उनीहरु संचारकर्मी कै कोठामा बसेर आपसमा गफिरहेका थिए ।

दुबैको तस्बिर खिच्न खोज्दा एमालेका खड्का मुसुमुसु हाँस्दै ‘मेयर हुने मै हो अलि राम्रो फोटो खिच्नुस है’ भनेर गिरीलाई कुमले हल्का धकल्दै लाडिदै जिस्किए ।

त्यसको जबाफ कुम जोरेर बसेका नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गिरीले त्यसैगरी प्रफूल्ल मुद्रामा हाँस्दै दिए – ‘राम्रो फोटो खिच्दनुस है उहाँको किनकी उहाँ क्यामेरामा र सामाजिक सञ्जालमा मात्रै मेयर हुने हो।’

त्यो ठट्टा सुनेर तस्बिर खिचेर क्यामेरा भिडियो मोडमा पुर्‍याँए । तपाँईहरु मध्य को हुन्छ त मेयर ? यतिखेर एमालेका खड्का हाँस्दै बोले – ‘म नै हुँ मेयर अब को होला र मेयर।’ खड्काको कुरा सक्न नपाउँदै काँग्रेसका गेहेन्द्र गिरीले हाँस्दै जबाफ फर्काईहाले – ‘मत परिनाम नआउँदा सम्म मात्रै उहाँ हो, परिनाम आइसकेपछिको मेयर म हो ।’

फेरि खड्काले हाँस्दै थपिहाले – ‘ठ्याक्कै उल्टो होला है परिनाम यो भरि लेखेर राखौं ।’ यो बीचमा काँग्रेसका गिरी सुने मात्रै बोलेनन् ।

फेरि मैले खड्कालाई सोधे – कति मतले जित्छु भन्ने लाग्छ ? खड्काले गिरीको आँखामा हेर्दै भने – ‘मत त जति छन त्यतिले जित्छु ।’

गेहेन्द्र गिरीलाई पनि त्यही प्रश्न सोधे – तपाँईलाई कति मतले जित्छु भन्ने लाग्छ ? गिरीले भने ‘ जित्छु, बहुमतले जित्छु भन्ने लाग्छ ।’

यो सबै हाँसी मजाक चलिरहँदा तुलसीपुरमा ९६२५ मत गणना भइसकेको थियो । काँग्रेसका गिरीले ४२१२ मत र एमालेका खड्काले ४०७६ मत प्राप्त गरेका थिए । गिरी खड्का भन्दा जम्मा १३६ मतले मात्रै अगाडि थिए । तर, दुबै उम्मेदवार शान्त थिए । न गिरीको अनुहारमा आँफू अगाडि भएकोमा दम्भ झल्कन्थ्यो न खड्काको अनुहारमा आँफु पछाडि परेकोमा निराशा । राजनीतिज्ञमा खुसी र पीडा लुकाउने ठूलो खुबी भएरै होला । दुबै जना हाँसीखुसी देखिन्थे । यी दुबै राजनीतिमा निकै पसिना बगाएका अर्थात खारिएका नेताहुन ।

को हुन गिरी ?

७१ बर्षीय खड्का तुलसीपुर ५ मा बस्छन् । जो तुलसीपुरको मुटु अर्थात मुख्य बजार क्षेत्र हो । बजार क्षेत्रमै अझैंपनि गिरीको कयौं बिगाहा पर्खेउली जमिन छ । स्थानीय चलनचल्तीकै शब्दमा उनी जमिन्दार हुन । २०५६ ताका गिरीले संसदीय निर्वाचन जितेका थिए । माओबादी युद्ध उत्कर्षमा पुग्दै गर्दा उनी दुई कार्यकाल जिल्लाको नेतृत्व गरेका नेता हुन । प्रतिबन्ध कालमा तुलसीपुरकै महेन्द्र माविमा कक्षा ८ मा पढ्दै गर्दा नजिकैको चिरा गई हातको औंला चिरेर रगतको ल्याप्चे लगाएर आँफू काँग्रेस भएको उनी बताउँछन् ।

चार बर्ष प्रजातन्त्रकै लगाईमा जेल जीवन भोगेका छन् । गिरी आँफुलाई स्वर्गिय नेता खुमबहादुर खड्काको सच्चा अनुयायी मान्छन् । दाङमा पार्टी भित्र त्यही लाइनबाट गेहेन्द्र गिरीको एउटा छुट्टै सशक्त लाइन छ । गिरी २०७४ सालमा पनि मेयरमा पराजित भएका थिए ।

गिरी त्यस्ता नेता हुन पार्टी भित्रको १४औं महाधिबेशनमा तुलसीपुर ५ बाट वडा प्रतिनिधिमा आफ्ना छोरा नाति समान ब्यक्तिहरु संग मैदान भिडेर उच्च लोकतान्त्रिक आचरण प्रस्तुत गरेका थिए ।

खड्काको राजनीतिक पृष्ठभूमी

एमालेका टीकाराम खड्का ५७ बर्षका भए । रोल्पामा एमालेको बिजोरोपन गर्ने यी नै खड्का हुन भन्नेहरु धेरै छन् । एमालेमा सचिव प्रणाली हुँदा रोल्पा जिल्लाको पार्टी प्रमुख भएर खड्काले काम गरेको अनुभव छ । तुलसीपुरकै बिकट मानिने वडा नं. १८ अक्कासीमा उनको घर छ । अहिले पनि उनको घरमा पुग्दा नेपाल टेलिकमको नमस्ते मोवाईलमा सम्पर्क राम्रो संग हुँदैन ।

खड्का ‘सर्वहारा वर्ग’को नेताको रुपमा परिचित छन् । यसअघि उनी सकुमबासी समस्या समाधान आयोगको जिल्ला अध्यक्ष थिउ ।

सरल र सहज स्वभावका खड्का यसअघि एमाले दाङको जिल्ला अध्यक्ष भइ सकेका नेता हुन । पहिला खड्का पार्टी भित्र माधव नेपाल गुटका नजिक मानिन्थे । त्यसअघि खड्का बामदेब गौतम नजिकका मानिन्थे ।

पार्टी बिभाजन ताका केही समय उनी अर्नितपनि बसेको आरोप पार्टी भित्रैकै मानिस अझैंपनि लगाउने गर्छन । उनले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तत्कालिन समय प्रतिगमन बिरुद्धको सडक आन्दोलनमा समेत सक्रियताका साथ उत्रिएका थिए । तर, पछि एमाले रोजे । एमाले महासचिव शंकर पोखरेल तुलसीपुर १९ र खड्का १८ का बासिन्दा भएपनि यसयघि सम्म पार्टी भित्र उनीहरुका बीचमा सुमधुर सम्बन्ध थिएन । तर, यतिखेर उनै पोखरेलले खड्कालाई आफ्नो नगरको मेयरका रुपमा उभ्याएका छन् । पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्र ३ छोडेर घोराही २ (क) बाट निर्वाचनमा जितेका पोखरेल यसपाली आफ्नो सुरक्षित स्थानको खोजीमा लागेको हुँदा परिक्षण तथा सर्बेक्षणको रुपमा खड्कालाई तुलसीपुरको मेयर उठाएको चर्चा हुँदै आएको छ । अर्कौ तर्पm जिल्लामा बाहुन र क्षत्री बीचको जातिय ‘फ्याक्टर’ अन्त्य गर्ने उदेश्यका साथ पोखरेलले साबधानी पूर्वक कदम चालेको चर्चापनि हुँदै आएको छ । किनकी, दोस्रो संविधान सभाको निर्वाचनमा त्यही नारा लागेको हुँदा पोखरेलले काँग्रेसका बुद्धिराम भण्डारीसंग पराजय भोग्नु परेको थियो ।

त्यस्तै गेहेन्द्र गिरी र दीपक गिरी दाजु भाइका छोरा भएपनि यी दुईको गुटगट राजनीति बर्षौंदेखि हाबी छ । दीपकले मंसिरमा हुने संघीय निर्वाचनका लागि आफ्नो निर्वाचन क्षेत्र सुरक्षित राख्न र लुम्बिनी प्रदेशका ग्रामिण तथा पर्यटन विकाश मन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश निर्वाचनमा आँफुलाई सुरक्षित राख्न फेरि पनि गिरीलाई तुलसीपुरका मेयरको उम्मेदवार बनाएको चर्चा पार्टी भित्र छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *