रोल्पा,बैशाख १२ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रोल्पाको माडी गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको छ ।
चुनावी तालमेल गरेका उनीहरुले आजै निर्वाचन अधिकृतको कार्यालयमा मनोनयसमेत दर्ता गरिसकेका छन् ।
गठबन्धनको तर्फबाट नेकपा एमालेका विजय घर्तीमगरले गाउँपालिका अध्यक्षमा उमेदवारी दर्ता गरेका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकको उमेदवारी दर्ता भएको नेपाली कांग्रेस माडी गाउँपालिका अध्यक्ष नवराज डाँगीले जानकारी दिए ।
गठबन्धन गरेका दुई दलले वडामासमेत तालमेल गरेका छन् । ६ वटा वडा रहेको सो गाउँपालिकामा नेपाली काग्रेसले वडा नं.२,३ र ५ मा वडाध्यक्ष पाएको छ भने नेकपा एमालेले वडा नं.१,४ र ६ मा उमेदवारी दर्ता गराएको छ ।
जिल्लाका अन्य स्थानीय तहमा पनि यी दुई दलबीच गठबन्धनको प्रयास भइरहेको बताइएको छ ।
प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार