काठमाडौं,चैत २५ । स्थानीय तह निर्वाचनका लागि गठन भएको निर्वाचन तयारी तथा अनुगमन समितिले निर्वाचन सम्बन्धमा संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बसेको सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनलाई मध्येनजर गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, ‘कांग्रेस र हामीबीच अनौपचारिक छलफल भएको छ । संयुक्त विज्ञप्ति जारी गर्ने कुरा भयो ।’
बैठकमा गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरु सहभागी थिए।
बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले चुनावी तालमेलमा अहिलेसम्म भएका प्रगतिबारे जानकारी गराएका थिए।
गठबन्धनले आगामी स्थानीय तह निर्वाचनको तयारी, परिचालन तथा अनुगमनका लागि वरिष्ठ नेता पौडेलको नेतृत्वमा समिति गठन गरेको छ।