२०८१ मङ्सिर १८ गते मङ्गलवार

आमाको हत्या गरि जेलवाट फरार खड्का १९ बर्षपछि पक्राउ

राजेश खत्री,
दाङ, माघ १५ । आफ्नै आमालाई खुकुरी प्रहार गरी हत्या गर्ने एकजना व्यक्तिलाई सल्यान प्रहरीले १९ बर्षपछि पक्राउ गरेको छ । सल्यान जिल्लाको साविक कुपिण्डे गाविस वडा नं. ८ र हालको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ स्वारा निवासी ३६ बर्षीय एकेन्द्रबहादुर खड्कालाई प्रहरीले सोमवार पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख विरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

डिएसपी शाहीका अनुसार खड्काले विक्रम संवत २०५६ सालमा आफ्नै आमा साईतीकुमारी खड्काको घाँटीमा खुकुरी प्रहार गरि हत्या गरेका थिए । हत्या लगतै खड्कालाई प्रहरीले पक्राउ गरेको थियो । त्यतिबेला सल्यान जिल्ला अदालतले खड्कालाई जन्मकैदको फैसला सुनाएको थियो ।

आमाको हत्यामा दोषी प्रमाणित भएपछि खड्का अदालतको फैसला पछि जेल गएका थिए । तर खड्का २०५७ साल फागुन २३ गते जेल बाट फरार भए । कैद परेको १ बर्ष ७ महिना २५ दिनमै खड्का जिल्ला कारागर सल्यान वाट फलामको ड्रम प्रयोग गरी पर्खाल नाघेर भागेका थिए । त्यहिले देखि नै खड्का फरार थिए । छिमेकी देश भारतको सिम्लमा बस्दै आएका खड्का लुकीछिपी नेपाल आउने जाने गरेको गोप्य सूचनाको आधारमा विशेष प्रहरीले टोलीले खड्कालाई गाउँवाटै पक्राउ गरेको थियो ।

खड्कालाई जिल्ला अदालत सल्यानमा पेश गर्दा अदालतले खड्काले भुक्तान गर्न बाँकी रहेको १८ बर्ष ४ महिना ५ दिन र कैदी भागेको मुद्दामा २ बर्ष थप कैद हुने ठहर गरि २० वर्ष ४ महिना ५ दिन कैद भुक्तानका लागि कारागारमा चलान भएको जानकारी दिएको छ ।

यसैबीच सल्यान प्रहरीले गत साउन १ गतेदेखि हालसम्म कैद जरिवाना तोकी फरार रहेका प्रतिवादी मध्य १५ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । त्यसमध्य ५ महिला र १० पुरुषलाई छन् । उनीहरुले ३८ बर्ष २ महिना १७ दिन कैद भुक्तान गर्न बाँकी छ । उनीहरु बाट जरिवाना स्वरुप ३ लाख ३५ हजार ९ सय १५ रुपैंया असुली हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *