२०८२ जेष्ठ ११ गते शुक्रवार

लेखा सिक्दै ब्यवसायी

तुलसीपुर, ५ माघ ।
तुलसीपुरका ब्यवसायीहरुले आफ्नो कारोवारको हिसाब किताब चुस्त र दुरुस्त राख्न निरन्तर अभ्यासमा रहेका छन् । उनीहरुले नियमितजसो आयोजना हुने गरेका आधारभूत लेखा तालिममा समेत सहभागी जनाउँदै आएका छन् । शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा सनराईज बैंक लिमिटेडले तुलसीपुरमा आयोजना गरेको लेखासम्बन्धी अभिमुखीकरणमा सहभागी ब्यवसायीहरुले विभिन्न शीर्षकहरुमा जिज्ञासासमेत राखेका थिए । सहभागीहरुले यस अघि जटिल समस्याका रुपमा देखापरेको मिसम्याचको समस्याका बारेमा समेत प्रश्न गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशिक्षक सनराईज बंैक लिमिटेडका अधिकृत सिए सुगम पोख्रेलले परम्परागत शैलीलाई परिमार्जन गर्दै आधुनिक सूचना प्रविधिको विकास सँगसँगै ब्यवसाय सञ्चालन गर्दा पर्न आउने समस्याका बारेमा जानकारी गराएका थिए । उनले सामान्य लेखाशास्त्रको सिद्धान्त, चालुपुँजी ब्यवस्थापनका आधारभूत नियमहरु, सरकरको कर नीति, विवरण,कर दाखिला तथा चुक्ता प्रमाणपत्रका साथै बजार प्रवद्र्धन तथा बिक्री ब्यबसायिक वातावरणको विश्लेषणका बारेमा जानकारी गराएका थिए ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्ता सामान्य किसिमका तालिमको ब्यवस्थापन गर्न स्थानीय निकाय र आन्तरिक राजस्व कार्यालयलाई अनुरोध गरेका छन् । उनीहरुले ब्यवसायीहरुको स्तर पहिचान गरेर विभिन्न चरणहरुमा एड्भान्स तथा सामान्य तालिमहरुको ब्यवस्था मिलाउनसमेत उद्योग वाणिज्य संघलाई अनुरोध गरे ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष विमल रिजाल, संस्थापक सभापति डिल्ली बहादुर बस्नेत, पूर्व अध्यक्ष हेमन्त रिजाल, सल्लाहकार नारायण खनाल लगायत एक सय पचास बढी ब्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य सनराईज बैंक तुलसीपुरका प्रबन्धक रन्जन कोईराला र सहजीकरण संघका सचिव विनिल केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *