दाङ, पुस ११ । घोराही कारागारका नाइके यमराज परियार भागेपछि जेलर युवराज परियारको जिम्मेवारी खोसिएको छ ।
जेलेर परियार जिल्ला प्रशासन कार्यालयमा तानिएका हुन । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अर्को ब्यबस्था नहुँदा सम्मको लागि जेलर परियालाई जिल्ला प्रशासनमा हाजिर गराइएको जानकारी दिए ।
जेलर परिवारको जिम्मेवारी पनि तत्कालका लागि तुलसीपुर कारागारका जेलेर अमर वलीलाई प्रदान गरिएको छ ।
जिल्लाको राजपुर गाउँपालिका बेलका यमराज परियारले कतब्र्य ज्यान मुद्दामा साढे ७ बर्ष कैद भुक्तान गरि सकेका थिए । अदालतले उनलाई २० बर्ष कैद सजाय तोकेको थियो ।
गत बिहीबार बिहान ११ बजेतिर कारागारबाट स्वास्थ्य उपचारका लागि लगिएको थियो । प्रहरी जवान धनबहादुर चौधरीले आफ्नो लु १४ प ४१० नम्बरको मोटरसाइकलमा राखेर कारागारका नाइके यमराज परियारलाई उपचारका लागि भनेर लगेका थिए ।
तर, अस्पताल जानु भन्दा पहिलै एउटा रेष्टुँरामा नास्ता खान पसेपछि त्यहीबाट नाइके परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर फरार भएका थिए ।
कारागारका नाइके जेलेर कुनैपनि बिरामी नभएपनि छालाको उपचार गराउन भनेर अस्पताल लगिएको तथ्य उजागर भइसकेको छ ।
नाइके परियार भागेपछि उनलाई उपचाकार लागि मोटरसाइकलमा अस्पताल लैजाने प्रहरी जवान धनबहादुर चौधरीसहित थप तीन जना सर्वसाधारणलाई भगाउन भूमिका खेलेको भन्दै प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
प्रहरीले घोराहीका नाइके परियारले लगेर भागेको प्रहरी जवान चौधरीको मोटरसाइकल शुक्रबार मात्रै लमही बजारदेखि केही माथीको जंगलमा फेला पारेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।