तुलसीपुर, मंसिर १९ । तुलसीपुर कचिलीका एक जना युवकको हत्या काण्डमा संलग्न रहेका ९ जना अधियुक्त मध्य चार जनालाई जन्म कैद (२५ बर्ष) को सजाए तोकिएको छ ।
दुई बर्ष अगाडि तुलसीपुर उपमहागरपालिका वडा नं. १२ कचिलीका २१ बर्षीय रामबहादुर वली ‘पाटेबाघ’ को संगठित ज्यान मुद्दाका अभियुक्त मध्य तुलसीपुर ११ बेलटाकुराका विवेकसिंह ठकुरी ‘बिक्की’, सोही ठाउँका भरत शाही, रमेश केसी र शौरभ मल्ललाई जन्म कैदको फैसला तोकिएको छ ।
दाङ जिल्ला अदालतका न्यायाधिक रितेन्द्र थापाको इजलाशले शुक्तबार चार जना बिरुद्ध जन्मकैदको फैसला सुनाएको हो । अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले अदालतले चार जना बिरुद्ध जन्मकैदको सजाए तोक्नुका साथै उनीहरुबाट पीडित परिवारलाई क्षतिपूर्ति समेत उपलब्ध गराउन आदेश गरेको बताए ।
उक्त संगठित ज्यान मुद्दा अन्य पाँच जना अभियुक्तहरु मध्य बेलटाकुराका तेजेस पिएम (पुन मगर), अमृत वली, सुन्दर बस्नेत, सरोज बुढा मगर र शुभम शर्माको हकमा सजाय निर्धारण गर्नका लागि मंसिर २४ गते पेशी तोकिएको पनि अदालतका सूचना अधिकारी शर्माले जानकारी दिए ।
उनीहरुको हकमा कम्तिमा पनि ३ बर्ष कैद सजाय हुने अबस्था रहेपनि कसुर अनुसार त्यो भन्दा बढी कति सम्म सजाय तोकिन्छ भनेर २४ गते मात्रै थाहाँ हुने सूचना अधिकारी शर्माले बताए ।
राबबहादुर वलीको २०७६ साल असार २८ गते तुलसीपुर ११ जनबहार चोकमा खुकरी, खुडा लगाएतका धारिलो हतियार प्रहार गरि हत्या भएको थियो । गम्भीर घाइते अवस्थाका वलीको उपचारका क्रममा छिमेकी देश भारतको लखनउमा असार २९ गते मृत्यु भएको थियो ।
रामबहादुर माथि दिनदाहादै तुलसीपुर– सितलपुर सडक अन्तरगत जनबहादुर चोकमा भएको सांघातिक आक्रमण र हत्या पछि उनका बुवा पूर्णबहादुर वलीले नेपाल सरकारको तर्फबाट मुद्दा दायर गरेका थिए ।
घटनास्थल जस्पुरपुर स्थित अस्थायी प्रहरी चौकीदेखि झन्डै १०० मिटरको दुरीमा पर्छ । वलीको हत्यामा संलग्न र हत्या गरिएका ब्यक्ति सबै अबिबाहित युवाहरु हुन ।