सिञ्जा, पुस २५। लामो समयदेखि ओझेल परेको कर्णाली राजमार्गअन्तर्गतको नाग्म–गमगढी सडक निर्माण निर्माणमा केही समययता गति बढेको छ । सो सडकखण्डको हिमा गाउँपालिकामा रहेको बाजा गाडादेखि बड्कीसम्म ग्राभेल भएको छ ।
स्थानीय सरकारले काम ठग्ने ठेकेदारहरुलाई भटाभट कारवाही गर्दा विकासले फड्को मारेको सिञ्जा गाउँपालिकाका समाजसेवी रमेश शाहीले बताए । “यदि ठेकेदारलाई कारवाही नगरिएको भए अझै पनि विकासमा ढिलाइ हुन्थ्यो । कारवाहीपछि एकदमै छिटो काम भएको हो । यही रफ्तारमा काम भए कर्णाली राजमार्ग छिट्टै बन्नेमा म विश्वस्त छु ”, उनले भने । सुर्खेेतदेखि मुगु, गमगढीसम्म बन्ने कर्णाली राजमार्ग २९७ किमीको बन्नेछ । हाल जुम्ला र कालीकोटको सिमानामा पर्ने नाग्मसम्म पिच भएको छ । कर्णाली राजमार्गको काम अब ९७ किमी(नाग्म–गमगढी) बाँकी छ ।
कनकासुन्दरी गाउँपालिकाबाट मुगुको खत्याडखोला जोड्ने सडक(करीब ८० किमी)ले पनि उत्तिकै तीव्रता पाएको कनकासुन्दरी –३ का बाछे बुढाले बताए । यही रफ्तारमा काम गर्ने हो भने पाँच वर्षमै कर्णालीका सबै स्थानीय तहसम्म सडक पुग्ने उनको भनाइ छ ।