दाङ, पुस २४ । दाङमा ब्रगेल्ती भित्रिएका अटोरिक्साको कारण ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ । त्यो चुनौती संग सामना गर्न मंगलवार तुलसीपुरमा बसेको सरोकावालाहरको बैठकले अबको १५ दिन भित्र तुलसीपुर उपमहनगरपालिकालाई अटो संचालन सम्वन्धि कार्यविधि निर्माण गर्न आग्रह गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालको अध्यक्षतामा बसेको बैठकले त्यस्तो सहमति कायम गरेको हो ।
मंगलवार ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले अटो व्यवस्थापन गर्न भन्दै सवारी चालक लाईसेन्स विना नै संचालन हुँदै आएका ३ सय ८१ वटा नियन्त्रणमा लिएपछि बसेको सरोकारवालाहरुको बैठकले अबको १५ दिन भित्र तुलसीपुर उपमहानगरपालिकाले अटो संचालन सम्वन्धि कार्यविधि बनाउने र त्यसैको आधारमा अटो व्यवस्थापन गर्ने सहमति भएको हो । तुलसीपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत आनन्द सारुले कार्यविधि नहुँदा नियमविपरित संचालनमा आएका अटोहरुलाई कारवाही गर्न अप्ठेरो परेको हुँदा पहिले कार्यविधि बनाएर व्यवस्थापनको प्रक्रिया सुरु गर्ने सहमित भएको बताए ।
बैठक पछि दाङ जिल्ला प्रहरी प्रमुख बेलबहादुर पाण्डेले एक महिना भित्रै सम्पूर्ण अटोहरुको विमा लगाएतको प्रक्रिया गरिसक्ने सहमति भएको जानकारी दिए । उक्त बैठकमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्रकुमार शाह, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाही, जिल्ला ट्राफिक कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक मननबहादुर कवर, नमस्ते यातायात प्रालिका अध्यक्ष भानुभक्त पार्धे, छहरा यातायात प्रालिका अध्यक्ष विकाश वली लगाएले अटो व्यवस्थापन गर्ने बारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए । तुलसीपुरमा हाल सातसय बढी अटोरिक्सा संचालनमा रहेको जानकारी दिइएको छ ।