२०८१ फाल्गुन ७ गते बुधवार

खोलामा अवैध उत्खनन्, १० टेक्ट्रर नियन्त्रणमा

दाङ २४ पुस। खोलाहरुमा अवैध नदीजन्य पदार्थको उत्खनन् रोकिन सकेको छैन । जिल्लाका नदी तथा खोलाहरुमा अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन भैराखेको छ । अवैध उत्खनन रोकिन नसक्दा राज्यलाई लाखौ राजश्व घाटा समेत लागेको छ । मंगलबार जिल्ला अनुगमन समन्वय समितिले बबइ गाउँपालिका ७ को कालीतराबाट अवैध नदीजन्य पदार्थ उत्खनन गर्दै गरेका १० टेक्ट्रर नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका टेक्ट्रर प्रहरीलाई जिम्मा लगाएको जिल्ला अनुगमन समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले बताए । उनका अनुसार गाउँपालिकाकाले टेण्डर गरेको भन्दा बाहिर क्षेत्रबाट उत्खनन भैराखेको अवस्थामा टेक्ट्ररलाई नियन्त्रणमा लिएको थियो ।

बबई गाउँपालिकाले चालु आर्थिक वर्षको लागि च्याटीखोलाको दोभानमा टेण्डर खोलेको छ । तर व्यवसायीले बबइ गाउँपालिकाको ७ को कालीतरा क्षेत्र र सामुदायिक वनबाट समेत उत्खनन् गरेका छन् । व्यवसायीले जथाभावी गरेको उत्खननले गाउँ समेत जोखिममा छ । ‘जथाभावीको उत्खननले कालीतारा गाउँ नै जोखिममा छ’ जिल्ला समन्वय समितिका सदस्य तथा स्थानीय जक्तबहादुर बस्नेतले भने ‘ अवैध रोकिएन भने गाउँ समेत बग्ने अवस्था भएको छ ।’ कालीतारामा ८० घरपरिवारको बसोबास छ । खोलामा अवैध उत्खनन भएपछि स्थानीयले अनुगमनको लागि जिल्ला समन्वय समितिमा निवेदन समेत दिएको थियो । अनुगमनमा धेरै विथित नै फेला परेको छ’ जिल्ला समन्वय समितिका प्रमुख नेपालीले भने ‘ त्यसलाई रोक्न र त्यस क्षेत्रमा निगरानी बढाउन स्थानीयवासी, गाउँपालिका र प्रहरीलाई निर्देशन गरेका छौ ।’

जिल्ला अनुगमन समन्वय समितिका सदस्य तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कानून भन्दा बाहिर गएर काम गर्न कसैलाई छुट नभएको बताए । अवैध रुपमा उत्खनन भएको फेला परेको छ । त्यसलाई कानूनी दायरामा ल्याउने काम गरेका छौ’ उनले भने ‘ त्यस क्षेत्रमा प्रशासनले समेत निगरानी बढाउने छ ।’

जिल्ला अनुगमन समन्वय समितिका प्रमुख नेपालीको नेतृत्वमा गएको अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी रिजाल, बबइ गाउँपालिका प्रमुख भुवनेश्वर पौडेल, जिल्ला प्रहरी प्रमुख बेलबहादुर पाण्डे, जिल्ला समन्वय समितिका सदस्य जक्तबहादुर बस्नेत, सुभद्रा भण्डारी, वन तथा बातावरण मन्त्रालय र विभागका कर्मचारीको समेत सहभागिता थियो ।

प्रकाशित मिति : २०७५ पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *