
तुलसीपुर,कात्तिक २६ । के तपाँईलाई कितावहरु पढ्न खुब मन पर्छ ? यदी त्यस्तो हो भने तपाँई तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुर्मीगाउँस्थित ‘दिदी घर’मा जान सक्नु हुन्छ । जहाँ दिनभर बसेर निशुल्क तपाँईका रुचि अनुसारका किताबहरु पढ्न पाउनु हुने छ ।
तुलसी बोर्डिङ स्कूलका बिद्यार्थी मिलेर ‘दिदी घर’मा लाइब्रेररी स्थापना गरेपछि अबदेखि त्यहाँ जो कोही फुर्सदको समयमा गरेर रुचि अनुसारका किताबहरु पढ्न पाउने वातावरण बनेको छ । उक्त बिद्यालयका बिद्यार्थीले आफ्ना स्वर्गिय सहपाठी तुलसीपुरकै शिवराज डाँगीको संझनामा ‘दिदी घर’मा असोजमा पुस्ताकलय स्थापना गरेका हुन ।
आफ्नो साथीको संझनामा डाँगीका सहपाठी मित्रहरुले आपसमा मिलेर झन्डै आधा लाख जति रकम संकलन गरि ‘दिदी .घर’ संस्थामा उक्त पुस्तकालय स्थापना गरेका हुन । किताब पढ्ने संस्कृतिको विकास गर्न र समाजमा ज्ञानको दायरा थप फराकिलो पार्न मद्दत पुगोस भनेर त्यहाँ पुस्ताकालय स्थापना गरिएको हो ।

‘दिदी घर’ संस्थाकी संस्थापक तथा सञ्चालक श्यानी चौधरीले पुस्तकालय स्थापना पछि विस्तारै युवा युवतिहरु दिउँसको समयमा किताव पढ्न आउन थालेको बताइन । ‘ किताव पढ्न रुचि भएका जो कोही ब्यक्ति यहाँ आएर दिनभर किताव पढ्न सक्नु हुन्छ,’ चौधरीले भनिन् । पुस्तकालय स्थापना गर्ने बिद्यार्थीले नै किताव पढ्नका लागि केही नियमहरु समेत बनाएर भित्तामा टाँसेका छन् । त्यसअनुसार त्यही बसेर पढेपछि किताव त्यही छोडेर जानु पर्छ । यदी कसैले घरमै लिएर जान चाहान्छ भने पाँच सय रुपैंया डिपोजिट गर्नु पर्छ । त्यसरी रुपैंया डिपोजिट गरेपछि १५ दिनका लागि किताब घर लगेर पढ्न पाइन्छ ।
१५ दिन पछि किताब फिर्ता गरे उस्ले डिपोजिट गरेको पाँच सय रुपैंया पनि फिर्ता पाउने गर्छ । यदी उस्ले पुनः केही समय थप्न चाहेमा १५ दिन भित्रै संस्थामा पुगेर म्याद थप्न पाउने ब्यबस्था पनि छ । संस्थामा पुस्तकालय स्थापना भएपछि बालबालिकाले समेत आफ्नो रुचि अनुसारका कितावहरु झिकेर पढ्न थालेको चौधरीले बताइन । ‘ पुस्ताकालयले पढ्ने संस्कृतिको विकास हुने विश्वास गर्न सकिन्छ,’ उनले भनिन् ‘ कोही त्यसै बरालिनु भन्दा फुर्सदमा आएर किताव पढ्नु बुद्धिमानी हो ।’

केटाहरुलाई बखरियामा स्थान्तरण गर्ने तयारी
अनाथ बालबालिकाको साहारा बन्दै आएको ‘दिदी घर’ संस्था २०६१ सालदेखि सञ्चालनमा आएको हो । संस्थापक सञ्चालक चौधरीले आफ्नै घरलाई अनाथ बालबालिकाको लागि आश्रय स्थल बनाएकी छिन् । श्यानीले आफुले देश तथा विदेशमा काम गरेर आर्जन गरेको रकमबाट खरिद गरेको करिब डेढ कठ्ठा जतिको क्षेत्रफललाई अनाथ तथा असहाय बालबालिकाको घरको रुपमा विकास गरेकी छिन् ।
पछिल्लो समय संस्थामा २२ बालबालिका छन् । ती मध्य केटा र केटीको संख्या लगभग बराबर जस्तै छ ।
चौधरीले उनीहरु सबैलाई तुलसीपुरकै अरनीको बोर्डिङ स्कूलमा पढाउँदै आएकी छन् । उनीहरुले कक्षा नर्सरीदेखि कक्षा पाँच सम्म पढ्ने गरेको चौधरीले बताइन ।
सडकमा बेसाहा बिहिन बालबालिका समेत प्रहरीले फेला पारी संस्थामा ल्याएर राख्न आग्रह गर्दै आएपछि बालबालिकाको संख्या बढ्दै गएको उनले बताइन । संख्या बढ्दै जानुका साथै उमेरपनि बढ्दै जान थालेको हुँदा केटाका लागि अब छुट्टै होस्टेलको ब्यबस्थापन गर्न थालेको संस्थापक सञ्चालक चौधरीले जानकारी दिइन ।
‘अब मंसिर महिनादेखि मेरो आफ्नै पुर्खेउली गाउँ तुलसीपुर १३ बखरीयामा ब्याइज होस्टेल बनाएर राख्न योजनाका साथ काम भइरहेको छ,’ चौधरीले भनिन् ‘त्यहाँपनि मैले आँफैले आर्जन गरेको पैंशा केही जग्गा किनेर घर बनाएकी छु । अब ब्याइज होल्टल त्यही बनाउने सोचेकी छु ।’
उमेर बढ्दै गएका केटा र केटीलाई अलग राख्ने उदेश्यले त्यसो गर्न थालिएको उनले बताइन । ‘मैले यी सबै बालबालिकालाई यही राखेरै निशुल्क रुपमा कक्षा १२ सम्म पढाउने हो,’ उनले भनिन् ‘ त्यति पढेपछि सायद उनीहरुले आफ्नो जीवनको गनतब्य पहिल्याउन सक्नेछन् भन्ने आशा छ ।’ चौधरीका आफ्नै सञ्तान छैनन् । उनका श्रीमान पनि छैनन् । त्यसैले उनले अनाथ र असहाय बालबालिकालाई आश्रय दिएर उदाहरणिय कार्य गर्दै आएकी छन् ।

कहाँबाट आउँछ सहयोग ?
तुलसीपुर उपमहानगरपालिकाले ‘दिदी घर’लाई बार्षिक दुई लाख रकम दिने सम्झौंता पत्रका उल्लेख छ । तर, रकम भने हालसम्म दिएको छैन । नगर तथा बजारमा फेला पर्ने सडक बालबालिकालाई रुपमा राख्नका लागि ‘दिदी घर’लाई ट्राञ्जिट प्वाइन्टको रुपमा बिकास गर्न नगरले उक्त रकम सहयोग गरेको हो ।
त्यस्तै किवानिज क्लव तुलसीपुरले पनि बार्षिक दुई लाख बढी दिने संझौता गरेको छ । उस्ले रकम पनि उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै संस्थाकी संस्थापक तथा सञ्चालिका श्यानी चौधरीका जापानमा बस्ने ४÷५ जना साथीहरु मिलेर असहाय बालबालिकाको संरक्षण तथा शिक्षा स्वास्थ्यका लागि भनेर झन्डै साढे दुई लाख जति बार्षिक सहयोग गरेको चौधरीले बताइन ।
त्यो बाहेक बिभिन्न अवसरहरुमा सहयोगी मनहरुले संस्थामै आएर बालबालिकाको लागि किताब, कलम, कापी, लत्ता कपडा, खाद्यान्न तथा नगद समेत स्वच्छिक रुपमा दिने गरेको चौधरीले बताइन । ‘कसैको संझनामा, कसैले जन्म दिनमा, कसैले बिवाहमा हुने फुजुल खर्च असहाय बालबालिकाको लागि भनेर दिने गर्नुहुन्छ,’ चौधरीले भनिन् ।
असहाय, अनाथ बालबालिकालाई सेवा गर्नु जस्तो महान सेवा अरु केही नहुने हुँदा सबैलाई सक्दो सहयोगको लागि चौधरीले आग्रह गरिन । ‘मानव सेवा जस्तो ठूलो सेवा अरु केही हुँदैन,’ उनले भने ‘ गरिब दुःखी र असहायको भविस्य निर्माणमा लाग्नु सबैको कतब्र्य हो ।’