२०८२ चैत्र २ गते सोमवार

रुकुममा विद्युत् आयोजना निर्माणका लागि हेलिकप्टरमार्फत सामान ढुवानी

रुकुम पूर्व,कात्तिक २६ । विद्युत् आयोजना निर्माणका लागि रुकुम पूर्वको सिस्ने गाउँपालिकामा हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । सडक सुविधा नभएर पैदल मार्गबाट सामान ढुवानी हुन नसक्दा महँगो हवाई ढुवानी गरेर सामान हेलिकप्टरबाट ओसारिएको हो ।

बिहिवार गाउँपालिका–१ मा निर्माणाधीन अवस्थामा रहेको पाखा ओराली लघु जलविद्युत् आयोजनाको लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ ।

सिस्ने गाउँपालिका(१ ओख्रेनामा गाउँपालिकाको पहलमा ४६ किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन छ । आयोजना निर्माणको जिम्मा गोक्यो इन्जिनियरिङ कम्पनी लिमिटेड पाल्पाले लिएको छ । कम्पनीले २०७७ साल फागुनमा सिस्ने(२ का दीपक बीसीलाई आयोजना निर्माणको जिम्मा दिएको थियो ।

बीसीले अबको डेढ महिनाभित्र विद्युत् आयोजना निर्माण सम्पन्न हुने बताए । भौगोलिक विकटताका साथै सडक सुविधा नभएको यस ठाउँमा सामान लैजान ल्याइएका पेनिस्टक पाइप, ट्रान्सफर्मर लगायतका अधिकांश सामान रुकुमकोटमा थुप्रिएका थिए।

ती सामग्रीलाई आयोजना स्थलसम्म लैजान अन्य कुनै माध्यम नभएपछि सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको आयोजना निर्माणको जिम्मा पाएका बीसीले बताए । उनका अनुसार रुकुमकोटमा रहेका पेनिस्टकपाइप, ट्रान्सफर्मर, ई।एल।सी। प्यानल, जेनेरेटर, टर्वाइन, बेसफ्रेस, एक्पान्स ज्वाइन्ट, ज्वानड्रफ्ट्यूब टर्वाइन र भल्भ लगायतका सामाग्रीहरु हेलिकप्टरमार्फत आयोजना स्थलसम्म पुर्याइएको छ ।

अहिलेसम्म आयोजनाको नहर बनाउने, केही ठाउँमा पोल गाड्ने लगायतका कामहरु सम्पन्न गरिएको छ । गएको आर्थिक वर्ष ०७७र०७८ मा विद्युत् आयोजना निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कोरोना भाइरसको महामारीका कारण काम प्रभावित भएको थियो ।

आयोजना निर्माणको लागि लुम्बिनी प्रदेश सरकारले १ करोड र सिस्ने गाउँपालिकाले १ करोड २० लाख गरी २ करोड २० लाख रुपैयाँ छुट्याइएको छ । जसमा १ करोड २० लाख खर्च भएको छ, भने १ करोड खर्च हुन नसकेको सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले बताए । खर्च हुन नसकेको बजेटलाई क्रमागत योजनामार्फत यस वर्ष पनि राखिएको छ ।

यस वर्ष जसरी भए पनि आयोजनालाई पूर्णता दिने र १ नम्बर वडाका जनतालाई विद्युतको पहुँचमा पुर्याउने गरि काम भइरहेको अध्यक्ष बरालले बताए । यो आयोजनाको काम सम्पन्न भएमा सिस्नेगाउँपालिका(१ का ३ सय ८२ घरधुरी विद्युतको पहुँचमा पुग्ने छन्।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *