
काठमाण्डौं, कार्तिक१ ५ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताईरीबिच पहिलो पटक औपचारीक भेट भएको छ ।
थप ३ वर्षका लागि नेपाली टिमको प्रशिक्षकका रुपमा नेपाल फर्किएका अल्मुताईरीको स्वागतमा खेलकुद मन्त्रालयले आइतबार विशेष कार्यक्रमको आयोजना गरेको थियो ।
सिंहदरबारस्थित मन्त्रालयमै आयोजना गरीएको उक्त कार्यक्रममा खेलकुद मन्त्री महेश्वरजंग गहतराज(अथक) ले अल्मुताईरीलाई दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गरे ।
नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन अल्मुतारीले पुर्याएको योगदान अतुलनिय रहेको भन्दै मन्त्री अथकले अबका दिनमा समेत गोर्खाली स्प्रिडलाई कामय राख्दै काम गर्न आग्रह गरे ।
मन्त्री अथकले अल्मुताईरीको आगमनपछि नेपाली खेलकुद क्षेत्रमा तरङ्ग उत्पन्न भएको र यसले विशेषगरी नेपाली फुटबलमा बेग्लै आशा जागेको बताए । गोर्खाली स्प्रिडलाई कायम राख्दै अगाडी बढ्न उनले आग्रह गरे ।
“तपाईले नेपाली फुटबलमा मात्र नभई सिङ्गो खेल क्षेत्रलाई तरङ्गीत बनाउनुभएको छ”, मन्त्री अथकले भने, “नेपाली फुटबल खेलाडीलाई गोर्खाली शैलीमा खेल्न प्रोत्साहित गरेर फुटबल विकासमा नयाँ आश जगाउनुभएको छ । सरकार तपाईको साथमा छ, ढुक्क भएर काम गर्नुहोस ।”
विगतमा केही समस्या देखिएता पनि त्यसलाई चिर्दै अल्मुतारीलाई पुनः नेपाल फर्काउन मन्त्रालय सफल भएको भन्दै मन्त्री अथकले खुसी ब्यक्त गरे ।
स्वागत पछि प्रतिक्रिया दिदैं अल्मुतारीले नेपाल र नेपालीको मायाँले आफु पुन नेपाल फर्किएको बताएका थिए । आजको दिन आफ्नो जिवनकै अविष्मरणीय क्षण भएको बताउँदै अल्मुतारीले नेपालले आफुलाई धेरै माया दिएको तर्क गरे ।
नेपालमा भएका खेलका दौरानमा होस वा आफु माल्दिभ्समा रहँदा समेत खेलकुद मन्त्रीले आफुलाई निरन्तर टेलिफोन गरेर हौसला प्रदान गरेको उनले बताए ।
माल्दिभ्स बसाईको क्रममा बिभिन्न देशले ठुलो रकममा आफुलाई प्रशिक्षकका लागि प्रस्ताव गरेपनि नेपालीको माया सम्झिएर आफु पुन नेपाल फर्किएको अल्मुताईरीले बताए । भने, “माया भन्दा ठुलो कुरा पैसा होईन ।”