२०८३ कार्तिक १० गते सोमवार

लिन फर्काउदा देखिएका किसानका मलिन अनुहारहरु…


मोतिपुर कात्तिक ४ । काटेको धान पुरै पानीमा डुवेको छ । तैपनि तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मोतिपुरका किसान जागुराम चौधरीले काटेर एकमेसो राखेको धानको लिन फर्काउंदै छन् ।

उम्रिसकेका वाला र कुहिएको परालले उनको अनुहार मलिन बन्यो । ‘परालसम्म पनि बचेन, धानको त आशै थिएन,’ डुवानमा परेको धान देखाउंदै जागुरामले भने ।

लगातार चार दिनको वेमौसमी झरीले मोतिपुरको करिव ६० विगाहामा काटीसकेको धान सखाप भएको छ ।
मातीपुर बबई नदीको तटिय क्षेत्र हो ।

विक्रम संबत १९८० शालसम्म मोतिपुरको नाम ‘आँखा फुटी’ थियो रे । फालाबाङ्गी राजा त्यँहा पुगेका वेला असाध्यै राम्रो धानखेति त्यहां देखेपछि ठाउँको नाम नै फेरि दिएर मोतिपुर राखिदिएको बुढा पाकाहरुले सुनाउँछन् । मोतिपुर उत्पादनका दृष्टिकोणले अन्नको भखारी पनि हो । तर, त्यही मोतिपुरमा अहिले बेमौसमी बर्षाका कारण भित्र्याउने अवस्थाको सबै धान स्वाहा भएको अवस्था छ ।

‘काटेको धान मात्र होइन, नकाटेको धान पनि ठाडै वालामै टुसा पलाएको छ’, – उम्रेको वाला देखाउंदै स्थानीय मोहन बस्नेतले भने ‘हाइब्रीड धान पाकेको समयमा भित्राउन सकिएन र पानी परिरहेको हुँदा ठाडै बोटमै फेरि फल टुसाएको छ ।’
ढलेको धान त खेतमै उम्रिन थालिसकेको छ ।

खराइमा राखिसकेको धान डुवेपछि सोही गाउँका मनिराम चौधरीले पम्पसेट लगाएर गराको पानी तानीरहेका थिए । ‘काट्न बांकी त खेत मै डुव्यो, खराइमा राखेको धानपनि पानीले उम्री सकेको छ’,–मनीरामले भने ‘प्रकृतिको खेललाई कसैले टार्न सक्ने रहेनछ ।’
चार बर्ष अघिपनि मोतिपुरको गनारीमा खेतमा काटेर सुकाएको धान एकै रात परेको पानीका कारण भल आएर धान पुरै बगाएको थियो । तर यति धेरै क्षति त्यो वेला नभएको मनीरामले बताए ।

मोतिपुरमा अधिकांशले जमिनदारको अधिया खेत लगाएका छन् । तर, यो बर्ष श्रमको खर्चपनि उठ्न नसक्ने चिन्ताले उनीहरुलाई सताएको छ । बर्षभरी के खाएर गुजारा गर्ने भन्नेमा उनीहरु चिन्तित छन् ।

वेलटाकुराका सन्तबहादुर बुढाथोकी पनि बिहीबार धानखेतमै मलिन अनुहारमा भेटिएका थिए । जसोतसो मल विउको जोहो गरेर हुर्काएको धान भित्र्याउने वेला सखाप भएपछि उनको मन भक्कानिएको छ । ‘दशै माने लगत्तै मेसिन लगाएर एकै दिन कटाएको थिएं, तर दैवले भित्राउन दिएन’,– सन्तबहादुरले भने ।

भिजेको वा टुसाएको धान खाँदा पनि मिठो नहुने र मुल्यपनि नपाउने उनले बताए । ‘ यसरी भिजेको धान कथम कदाचित जोगिएपनि कुटाउंदै धुलैधुलो हुने गर्छ,’ उनले भने ‘ यो पालि भोकमारी पर्न सक्छ र धानको मुल्य निकै महंगो हुने छ ।’

तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाँउका किसान दानबहादुर खड्काको पनि यस्तै नियति भोगिरहेका छन् । भर्खरै फाटेको आकासमुनी उनले खेतका गरामा धानका लिन फर्काइरहेका थिए । तर उम्रिसकेका दानाले दानवहादुरको मन फाटेको छ ।
गाँसका लागि तयार खाना दैवले उम्काइ दिएको किसानले बताउने गरेका छन् । तैपनि बचेखुचेका वाला स्याहार्न पुरै गाउले खेतमा देखिन्थे ।

पश्चिम दाङमा मोतिपुर धान उत्पानदनको दृष्टिले भकारी समान हो । मोतिपुरका स्थानीय बासिन्दा तथा तुलसीपुर उद्योग वाणिज्यसंघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले बेमौसमी झरीले किसानले भित्र्याउने बेलामा धान सबै स्वाहा पारेको हुँदा राज्यले क्षतिपुर्ति दिनुपर्ने बताए ।

तीनै तहका सरकारले किसानका समस्यालाई सुनेर समाधानको प्रयास तत्काल थाल्नुपर्ने उनको सुझाब छ ।
किसानको बर्षदिनको मेहनत क्षति हुँदापनि स्थानीय पालिकाका कृषि शाखाका कर्मचारी र जनप्रतिनिधिहरु खेतवारीमा नआएको प्रति बस्नेतले रोष प्रकट गरे ।

गौरीगाउ, कटाँहा, प्रिगाँउ, मोतिपुर मात्र होइन, तुलसीपुर २ पवननगरका किसानपनि बेमौसमी बर्षाले निकै आहत भएका छन् ।
तुलसीपुर – २ का वडाध्यक्ष राजु आचार्य भने किसानसंगै खेतमै भेटिएका थिए । ‘हाम्रो वडामा कम्तिमा ३० प्रतिसत भन्दा बढी धानखेति नोक्सान भएको प्रारम्भिक अनुमान गरेका छौं’,– पवननगर कुमलगढीको खेतमा भेटिएका वडाध्यक्ष आचार्यले भने ।
आचार्यका अनुसार सवैभन्दा बढी क्षति त्यहाँ कुमलगढीमै भएको छ । तकियापुर, नन्द्रागाँउं लगायतका क्षेत्रमा पनि काटेको र नकाटेका धानवाली पनि नोक्सान पुगेको उनले बताए ।

वडाध्यक्ष आचार्यले किसानलाई क्षतिपुर्ति उपलब्ध गराउने बारे आँफूले तुलसीपुरका मेयर संग कुरा गर्दै आएको बताए ।
आकास खुल्ने वित्तिकै विहीवार विहानै तुलसीपुर १९ थानगाउँका किसानपनि खेतमा पुगिसकेका थिए । त्यँहा पनि अधिकांश किसानले धान काटिसकेका छन् । काट्न बांकी धानमा नोक्सान नभएपनि काटीसकेको धानवाली पुरै क्षति भएको स्थानीय शिक्षक सुर्यबहादुर बस्नेतले जानकारी दिए ।

पश्चिम दाङका दंगीशरण, शान्तिनगर, बबई गाउँपालिका, तुलसीपुर र घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती लगायत सवै पालिकाहरुमा बढी क्षति भएको जिल्ला कृषि ज्ञानकेन्द्रले जनाएको छ । उस्ले दाङका यो बर्ष ३९ हजार हेक्टरमा धानखेति भएको भन्दै ३० प्रतिसत धानवाली नोक्सान भएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *