२०८३ भाद्र २३ गते मङ्गलवार

जुम्ल्याहा छोरा जन्माएपछि आमाको मृत्यु, आफन्तले शब बुझ्न मानेनन्

दाङ, कात्तिक १ । कैलालीकी एक सुत्केरी महिलाको मृत्यु पछि आफन्तले शव बुझ्न मानेका छैनन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कैलाली, गौरीगंगा गाउँपालिका वडा नं. ९ मसुरिया की २३ वर्षीया कमला धामीको मृत्यु भएपछि आफन्तले शब बुझ्न नमानेका हुन । दुई दिनअघि शल्यक्रिया बाट उनले जुम्ल्याहा छोरालाई जन्म दिएकी थिइन ।

शल्यक्रिया पछि सामान्य अवस्थाकी धामी एकाएक बेहोस भएपछि मृत्यु भएको थियो । जस्लाई परिवारका सदस्यले चिकित्सकको लापरबाहीले गर्दा मृत्यु भएको दाबी गर्दै आएका छन् । जेठाजु रमेशबहादुर धामीले बुहारीको मृत्यु चिकित्सकको लापरबाहीले गर्दा भएको हुँदा शब नझ्ने बताए ।

सुत्केरी बेथा सुरु भएपछि असोज २७ गते धामीलाई कैलालीस्थित सेती अस्पतताल धनगढीमा भर्ना गरिएको थियो । त्यहाँबाट कोहलपुर रिफर भएपछि असोज २८ गते बिहान ३ बजेतिर उनीहरु कोहलपुरमा भर्ना भएका थिए । असोज २९ गते दिउँसो ४ बजेतिर कमलालाई शल्यक्रिया कक्षमा लगिएको थियो ।

‘शल्यक्रिया गरेर जुम्ल्याहा छोरा जन्मिएपछि बेलुका ६ बजेतिर बुहारीलाई नर्मल वार्डमा सारिएको थियो,’ जेठाजु रमेशले भने ‘त्यसपछि बेलुका ७ बजेतिर बुहारी एक्कासी बेहोस भएपछि हामीले डाक्टरलाई खोज्दापनि कोही थिएनन् ।’ राति १० बजे पछि नर्सले बुहारीलाई आईसियुमा सारेको भएपनि मृत्यु हुन पुगेको जेठाजु रमेशले बताए ।

आइसियुमा भर्ना भएकी बुहारीको कुन समयमा मृत्यु भएको हो ? भन्ने कुरा समेत आफुहरुलाई अस्पतालले जानकारी नदिएको रमेशले गुनासो गरे ।

‘आइसियुमा भर्ना गरेको दुई दिन भन्दाबढी समय भइसक्दा पनि अस्पतालले मृत्युबारे लिखित रुपमा जानकारी दिएको छैन,’ रमेशले भने ‘अहिले पनि कृतिम श्वास दिइरहेको जानकारी अस्पताल प्रशासनले दिएको छ । तर, डाक्टरले भने हामीलाई मृत्यु भइसकेको कुरा जानकारी दिएका छन् ।’

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रशासकीय अधिकृत सन्जु पन्तले सुत्केरीको ‘ब्रेन डेथ’ भएको भन्ने जानकारी दिए । उनले सम्बन्धित डाक्टरको टिमसँग बुझेर मात्रै थप कुरा जानकारी दिने बताए ।

अप्रेशनबाट बच्चा निकालिएको भएपनि सुत्केरीको स्वास्थ्यमा ब्लड प्रेसर लगायत विभिन्न समस्या भएका कारण तत्कालै आइसियुमा राखेर उपचार गर्दापनि बचाउन सम्भव नभएको उनले बताए ।

प्रकाशित मिति : २०७८ कार्तिक १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *