तुलसीपुर, असोज १३ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरले हिन्दु नेपालीहरुको महान चाड दशैं तिहारलाई लक्षित गरि हिमाली तथा पहाडी चार जिल्लाहरुमा चामल पठाउने तयारी गरेको छ ।
कार्यालय प्रमुख प्रमुख नकुल चौधरीले डोल्पा, जाजरकोट, रुकुम पूर्व र रुकुम पश्चिममा चामल पठाउने तयारी भइरहेको फरककोणलाई बताए ।
ती उल्लेखित ठाउँहरुमा जिरा मसिनो लगाएत पाँच थरी चालम पठाउने तयारी गरिएको छ ।
निमित्त प्रमुख चौधरीका अनुसार रुकुम पूर्वको शोभा गाउँमा एक हजार क्वीन्टल र रुकुम पश्चिमको मुसिकोटको लागि एक हजार पाँच सय क्वीन्टल चामल पठाइने भएको छ ।
त्यस्तै जाजरकोट जिल्लाको लागि तुलसीपुरबाट दूई हजार क्वीन्टल चामल पठाउन लागिएको छ ।
डोल्पा जिल्लाको चार ठाँउहरु सदरमुकाम दुनैका लागि तीन हजार क्वीन्टल, झुपालका लागि एक हजार पाँचय क्वीन्टल, सर्मीको लागि नौं सय क्वीन्टल र लिकुको लागि एक हजार क्वीन्टल चामल पठाउन लागिएको छ ।
डोल्पाको चार ठाउँमा चामल पठाउने तयारी भएपनि अन्य सबै ठाउँको सम्झौंता आइसकेको र लिकुको मात्रै आउन बाँकी रहेको उनले बताए । अबको दूई चार दिनमै सम्झौंता पत्र आइपुग्ने र त्यसपछि चामल पठाउन सुरु हुने चौधरीले फरककोणलाई बताए ।
चाड पर्वको समयमा पर्वहरुमा देश बिदेशबाट मानिसहरु घर फर्किने गर्छन । यस्ता पर्वहरुमा मिठो मसिनो खाने परम्परा हाम्रा समाजमा रही आएको छ । जसले गर्दा बिकट पहाडी तथा हिमाली जिल्लामा खाद्यन्नको अभाव हुने गर्छ ।
धान उत्पादन निकै कम मात्रामा हुने हिमाली र पहाडी जिल्लाहरुमा दशैं तिहार जस्ता पर्वहरुमा चामलको अभाव नहोस भनेर बिगतका बर्षदेखि नै खाद्यान्नले चामल पठाउँदै आएको छ ।