
तुलसीपुर,असोज ५ ।तुलसीपुरमा ५० छात्रालाई निशुल्क साइकल बितरण गरिएको छ । अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा मंगलवार सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई विद्यालय जान आउन सहज होस भनेर साइकल बितरण गरिएको हो ।
युएनडिपीको सहयोग तथा केएमजी , एनसेल र आइएमइपेको सहकार्यमा ती साइकल बितरण गरिएको हो । सामुदायिक विद्यालयमा कक्षा ८ देखि १२ कक्षासम्म अध्ययनरत किशोरीलाई साइकल बितरण गरिएको हो । ‘किशोरीहरुको सशक्तिकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान’ भन्ने सन्देशका साथ साइकल वितरण गरिएको थियो ।
तुलसीपुर १२ मेट्रो कलेजमा अध्ययनरत सरिता पुनले निशुल्क साइकल प्राप्त गरेपछि अब आँफू जस्ता छात्रालाई अध्यनका लागि बिद्यालय आउन जान सहज हुने भन्दै खुसी साटिन ।

‘मेरो घरदेखि स्कुल डेढ घन्टा टाढा छ । सधै हिडेर स्कुल जाँदा निकै सास्ति हुन्थ्यो,’ पुनले भनिन्‘ साइकल पाएपछि अब धेरै सजिलो हुने भयो , यसले मलाई उर्जा थपिदिएको छ ।’ रुकुमपुर्व घर भएकी पुन आफन्तको घरमा बसेर पढ्दै आएकी छिन् ।
तुलसीपुरकी उपमेयर माया आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा यूएनडिपीका नेपाल प्रतिनिधि आयशनी मेडागन्गोटा लाबेले तुलसीपुरले थालेको साइकल अभियान किशोरीको सुरक्षाका लागि महत्वपूर्ण रहेको बताइन ।
मेयर घनश्याम पाण्डेले साइकलको माध्यमबाट छोरीहरुलाई शिक्षामा शसक्त बनाउन गतवर्षदेखि निशुल्क रुपमा साइकल वितरण अभियान थालिएको बताए ।

सो अवसरमा साइकल सिटी नेटर्वक नेपालका निमेश डुगर,एनसेलका रमेश श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गरेका थिए । त्यसअघि साइकल ¥याली पनि निकालिएको थियो ।