दाङ, भदौं २१ । नेपालगञ्जस्थित भेरी अस्पतालका नर्सहरुले कोरोना संक्रमन भइ अस्पतालमा उपचारका लागि भर्ना भएका महिलाहरुलाई सोमबार दर खुवाएका छन् ।
अस्पतालको कोभिड वार्डमा कार्यरत नर्सहरु मिलेर आपसमा आर्थिक संकलन गरि त्यहाँ उपचाररत संक्रमित महिलाका लागि चुरा र टिकुली समेत प्रदान गरेको एक नर्सले बताइन ।
उनले त्यहाँ उपचाररत २२ जना जति महिला दिदी बिहीनीहरुलाई दरका रुपमा खिर, केरा, मिठाई, पुरी र तरकारीका परिकारहरु खुवाएको जानकारी दिइन ।
‘ हामीले संक्रमित दिदी बहिनीहरुलाई आज दर खुवाएका हौं,’ कोभिड वार्डकी नर्सिङ अधिकृत मौनता अर्यालले भनिन् ‘ हामीले दिदी बहिनीहरुलाई तीजको कोसेली स्वरुप चुरा टिकुली समेत प्रदान गरेका हौं।’
तीजको उल्लास सर्बत्र छाइ सकेको भएपनि संक्रमन भइ उपचाररत महिला दिदी बहिनीहरु प्रति सदभाव दर्शाउन र अस्पतालमा छँदापनि घरकै जस्तै अनुभूति दिलाउन आँफुहरुले दर खुवाएको उनको तर्क थियो ।
उनले आँफुहरुले समेत रकम संकलन गरेको र निको भएर घर फर्किदा दिनरात सेवा गरेका नर्सको सम्मान स्वरुप स्वच्छिक रुपमा बिरामले प्रदान गरेको रकमलाई समेत दर खुवाउन प्रयोग गरिएको अर्यालले बताइन ।
दिनरात आफ्नो सेवामा खटिने नर्सले वार्डमै पुगेर तीजको कोशेली दिदाँ र दर खुवाउँदा अधिकांस संक्रमित महिला खुसी बनेको अर्यालले बताइन ।