
तुलसीपुर,भदौ १२ ।तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका पदाधिकारीहरुले अध्यक्ष खेमराज वलीले पदबाट मौखिक रुपमा राजीनामा दिएपनि आधिकारिक रुपमा संस्थामा राजीनामा पत्र आइ नपुगेको बताएका छन ।
उनीहरुले शनिवार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरि भदौ ६ गते अध्यक्षले एकल पत्रकार सम्मेलन गरी मौखिक रुपमा राजिनामा घोषित गरेता पनि हालसम्म संस्थामा कुनै पनि पत्र नआएको बताएका हुन ।
संस्थाका उपाध्यक्ष गिरिधारी प्रसाद पौडेलले समितिले एकले–अर्काले गरेको कुरालाई स्वीकार नगर्दा समस्या पैदा भएको तर्क गरे ।
उनले संस्थाका पदाधिकारीको आपसी रिसिबिका कारण सिंगो उपभोक्ताले खानेपानीको सास्ती भोग्नु परिरहेको बताए ।
‘विधि,पद्धति र सिष्टमबाट अगाडि बढ्नु पर्छ’, उनले भने,‘ यदि त्यसो हुन सकेन भने अन्त्यमा तुलसीपुर खानेपानी संस्था अप्ठ्यारो पर्नसक्छ ।’
त्यस्तै कोषाध्यक्ष सिताराम शर्माले अध्यक्षले राजीनामा दिदा कार्यकाल नै खारेज भयो भन्दै घोषणा गरेता पनि आफुहरु खारेज नभएको बताए ।
‘यसको निकास निकाल्न जरुरी छ’,उनले भने,हामी खारेज भएका छैनौ,जिवितै छौँ।’
पत्रकार सम्मेलनमा सचिव मनोज लामिछानेले संस्थाको कार्यसमिति जीवितै रहेको र अन्त्यमा ठोस निकास निकालेर अगाडि बढ्ने बताए ।
कार्यसमिति सदस्य रञ्जन कुमार गौतमले संस्था भित्रका कुरा संस्थामै टुंग्याउन नसक्नु दुःखद पक्ष भएको बताए ।
उनले भने ‘अध्यक्षले मौखिक रुपमा राजिनामा दिएर हुदैन । लिखित रुपमा दिनुपर्छ । तब मात्र संस्थाको काम गर्न सहज हुनेछ ।’
सदस्य जालपा देवी दमाई र सदस्य मेघराज न्यौपानेले जम्मेवारी निभाउन नसक्दा सबैजना पानीमा डुब्न पुगेको र अब कोहीपनि पानी माथिको ओभानो बन्न नहुने धारणा राखे ।
उनले अध्यक्षको राजीनामा संस्थाको निर्णय र विधि विपरित भएको भन्दै आक्रोस पोखे ।
तुलसीपुर खानेपानी संस्थाबारे उच्च अदालत तुलसीपुरमा उपभोक्ताले दायर गरेको मुद्दा अहिले पनि बिचाराधिन छ ।
अदालतकै कारण यसअघि गत चैत तिर अध्यक्ष वलीले गर्न खोजेको खानेपानीको अधिबेशन समेत अनिश्चित कालकाका लागि स्थगित भएको थियो ।
कार्यसमितिको पदावधि सकिएको १७ महिना पुगिसक्दा पनि निर्वाचन हुन सकेको छैन ।