काठमाण्डौ,भदौ १२ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ ।
शनिबार बिहान चाक्सीबारीमा रहेको नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी केन्द्रित भएर लाग्ने निर्णय गरेको हो ।
महाधिवेशनमा एकजुट भएर लाग्नका लागि सिंगो पार्टी पंक्तिलाई एक औपचारिक कार्यक्रम गरी आह्वान गर्ने निर्णय पनि गरिएको नेता सिंहले जानकारी दिए ।
पार्टी सभापति शेरबहादुर देउवासँग वरिष्ठ नेता पौडेलले शुक्रबार गरेको भेट पछि पौडेल पक्षले महाधिवेशनको वातावरण बनेको निष्कर्ष निकाल्दै त्यसका लागि सिंगो पार्टी पंक्तिलाई एकजुट भएर अघि बढन आह्वान गर्ने निष्कर्षमा पुगेको हो ।
पौडेल पक्षले दुई दिन भित्र क्रियाशील सदस्यहरुको बाँकी विवाद टुंगो लगाउन पनि पार्टी सभापति देउवालाई दबाव दिएको छ ।
दुई दिन भित्र क्रियाशील सदस्यहरुको बाँकी विवाद समाधान गरी वडा अधिवेशन यही भदौ १८ गतेबाटै प्रारम्भ गर्ने पार्टी केन्द्रीय समिति र निर्वाचन समितिको निर्णय कार्यान्वयन गरेर अघि बढने विषयमा पार्टी सभापति देउवासँग सहमति गरिएकाले त्यही अनुसार अघि बढ्ने निर्णय पनि गरिएको नेता सिंहले बताए ।
पौडेल पक्षले भदौ १८ गतेबाट वडा तहको अधिवेशन सम्पन्न गर्ने पार्टीको निर्णय कार्यान्वयनमा नगए पार्टीको वैधानिकता नै संकटमा पर्ने निष्कर्ष निकाल्दै चिन्ता व्यक्त गर्दै आएको छ ।