सल्यान,साउन ३२ । लाखौं रकम ठगि गरेको आरोपमा “पछ्यौरी डन” पक्राउ परेका छ्न। उनलाई काठमान्डौमा पक्राउ गरिएको हो।
कसैसंग काँचो सुनको व्यापारी, कसैसंग जग्गा व्यापारी तथा कसैसंग आफूलाई ठेकेदार हुँ भन्दै धर्म बहिनी, प्रेमिका वा विभिन्न साईनो सम्बन्ध बनाएर लाखौँ रकम ठगी गर्ने निरम कुमार शाही (पछ्यौरी डन) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
लाखौँ रुपैयाँ तथा सुन ठगी गरेको आरोपमा पक्राउ परेका कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउपालिका वडा नम्बर–४ का २६ वर्षिय शाहीलाइ प्रहरीले पक्राउ गरि जिल्ला अदालत सल्यान ल्याएको हो।
लाखौँ रकम र सुन ठगी गरी फरार रहेका शाहीले फेसबुकमा “संगम ठकुरी” नाम राखेर “पछ्यौरी डन”को रुपमा समेत चिनिने, आफ्नो घर ठेगाना विभिन्न ठाउँमा बताउने गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।
पछ्यौरी डनले सल्यानका केही ब्यक्तिबाट मात्रै ९ लाख ठगी गरेको मुद्दा छ। यो बाहेक उनले बाहिर नखुलेको थुप्रै ठगी गरेको प्रहरीले अनुमान गरेको छ।
शाहीले अन्य विभिन्न स्थानहरुमा समेत ठगी गरेको हुनसक्ने भएकोले निजबाट पीडित व्यक्तिले प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत प्रहरी निरीक्षक पौडेलले बताए।
शाहीलाई महानगरीय अपराध महाशाखा काठमाडौ संगको समन्वय र सहयोगमा काठमाडौबाट पक्राउ गरी सल्यान जिल्ला अदालतबाट १५ दिन म्याद थप अनुमति लिएर अनुसन्धान कार्य भईरहेको प्रहरिले बताएको छ ।