
तुलसीपुर,साउन ३० ।अपाङ्गता भएका व्यक्तिहरुको हकहितमा काम गर्दै आएको अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुरले बल्ल आफ्नै भवन पाएको छ । २०६७ साल साउन १७ गते उक्त संस्था स्थापना भएको थियो । संस्थापक अध्यक्ष हुमाकान्त कँडेल,टीकाराम कँडेल,खगेन्द्र बस्याल लगाएतका व्यक्तिहरु मिलेर संस्था स्थापना गरेका थिए ।
‘त्यो बेला आफ्नो भवन थिएन,भाडा मै संस्था सञ्चालन गर्न बाध्य भयौँ’,–अध्यक्ष कंडेलले भने,‘सुरुका दिनहरुमा हामीले साहै्र कष्ट सहनु प¥यो । कोठा भाडा तिर्ने पैसा नभएर कहिले कता र कहिले कहाँ सार्नुपर्दथ्यो ।’
मासिक पैंसा तिर्न नसक्दा कतिको गाली नै खानु परेको उनले स्मरण गरे । तर, केही गर्ने अठोटका साथ संस्थाले ७२ सालमा तुलसीपुरमा महापुराण लगायो । महापुराणमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ की सुमित्रा बस्यालले वडा नं ९ दुधेनामा रहेको ६ धुर जग्गा दान गरिन । त्यसपछि बल्ल संस्थाका पदाधिकारीमा केही हिम्मत पलायो ।
महापुराणबाट संकलित रकम र केन्द्रको केही पैंसा मिलाएर उनीहरुले तुलसीपुर ६ बरुवा गाउँमा डेढ कठ्ठा जग्गा किने ।
त्यो भन्दा पहिलासम्म झोलामा कार्यालय बोक्नु पर्दथ्यो । संस्थालाई कति दिन भाडामा सञ्चालन गर्ने त ? अब आफ्नै भवन निमार्ण गर्नुपर्छ भन्ने सोचले ०७२ साल असोज महिनाबाट भबन निमार्ण गर्न सुरु भएको अध्यक्ष कँडेलले बताए ।
तर, पंैसाको अभावले भवन निर्माणको काम प्रभावित बन्यो । समयमै काम हुन सकेन । निमार्ण सामाग्री लिने पैसा नहुदाँ काम रोकियो । त्यसपछि संविधान सभा सदस्य बुद्धिराम भंडारी, तुलसीपुर नगरगरपालिका,जिल्ला विकास समिति,विभिन्न सघंस्थाहरुलाई सहयोगको लागि अपिल गरे । ब्यक्ति बिशेष र कार्यालयहरुबाट प्राप्त सहयोग रकमले काम भवन निर्माणको काम जेनतेन अगाडि बढ्यो ।
तर, त्यतिमात्रै प्रयाप्त थिएन । फेरि उनीहरुले गतवर्ष तुलसीपुर उपमहानगरपालिकालाई अपिल गरे । उस्ले ६ लाख सहयोग ग¥यो । त्यसपछि बल्ल भवन निर्माणले पूर्णाता पायो ।
लामो समयको प्रयास पछि अहिले अपाङ्ग समाज सुधार केन्द्र आफ्नै भवन निर्माण गर्न सफल भएको ध्यक्ष कंडेलले जानकारी दिए ।

उनका अनुसार भवन निमार्ण गर्दा २७ लाख बढी खर्च लागेको छ । तर, अझैं धेरै संरचनाहरुलाई पूर्णतादिन बाँकी नै छ । शौचालयकोे भबन मात्र बनेको भएपनि भित्री काम सबै बाँकी रहेको कँडेलले बताए ।
उनले भने,‘ हामीले बिभिन्न ब्यक्ति र संघ संस्थालाई गुहारेर सहयोग जुटाउँदै कार्यक्रमहरु गर्दै आएका छौं।’
उनले कार्यालय नियमित चलाउन आर्थिक अभाव रहेको तर्क गरे ।
भदौको पहिलो हप्तादेखि फिजियो थेरापी सेवा दिने तयारी
अपांङ्ग समाज सुधार केन्द्र तुलसीपुरले भदौको पहिलो हप्तादेखि फिजियो थेरापी सेवा सञ्चालन गर्न लागेको जानकारी दिएको छ । शारिरीक अशक्त भएका व्यक्तिलाई शारिरिक चाल र मांशपेशिको चालमा सहजता ल्याउनका लागि फिजियो थेरापी केन्द्र संचालनमा ल्याउन लागेको केन्द्रका अध्यक्ष हुमाकान्त कंडेलले फरककोणलाई बताए ।
‘फिजियो थेरापीको उद्घाटन भैसकेको छ,’ उनले भने,‘तुलसीपुर जनस्वास्थ्य प्रवद्र्धन शाखाको करिब ४ लाख सहयोगमा थेरापी सेवा दिन लागेका हौं ।’
मेट्रो अस्पतालबाट एक जना फिजियो थेरापी डाक्टरले सेवा दिनका लागि आउने भएका छन् । दाङ जिल्लामा १६ हजार बढी र तुलसीपुरमा मात्रै १ हजार ४ सय जना अपाङ्गता भएका व्यक्तिहरु रहेको अध्यक्ष कँडेलले फरककोणलाई जानकारी दिए ।
जस मध्ये अधिकांस शारिरीक अपाङ्ग, दृष्टि बिहीन र बौद्धिक अपाङ्ग बढी रहेको अध्यक्ष कँडेलले बताए ।
